बङ्गलादेशमा विपक्षी दलका नेता आलमगिर पक्राउ


 


बङ्गलादेश । बङ्गलादेशका प्रमुख प्रतिपक्षी दलका नेता पक्राउ परेका छन् ।

तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि नेता मिर्जा फखरुल इस्लाम आलमगिरलाई पक्राउ गरिएको हो ।

बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले एक विज्ञप्ति जारी गर्दै उनलाई आइतबार बिहान पक्राउ गरिएको पुष्टि गरेको छ ।

ढाका मेट्रोपोलिटन प्रहरीका प्रवक्ता फारुक हुसेनले उनको गिरफ्तारीबारे आफूलाई जानकारी नभएको बताए ।

बीएनपीका अध्यक्ष तथा दुई पटक प्रधानमन्त्री बनेकी खालिदा जियालाई पक्राउ गरेर जेल सजाय दिइएपछि र उनका छोरा बेलायतमा निर्वासनमा परेपछि बीएनपीका महासचिव ७५ वर्षीय आलमगिरले पार्टीको नेतृत्व गर्दै आएका छन्।
सन् २०२० मा १७ वर्षको जेल सजायबाट रिहा भएपछि जिया नजरबन्दमा बस्दै आएका छन्।

बङ्गलादेशका दुई प्रमुख विपक्षी पार्टीका एक लाखभन्दा धेरै समर्थकले एउटा तटस्थ सरकार मातहत स्वतन्त्र र निष्पक्ष मतदानको अनुमति दिनका लागि प्रधानमन्त्री शेख हसिनालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध प्रदर्शनमा भाग लिएका थिए ।

बङ्गलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छिन् । उनको सरकारमाथि भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ ।

हिंसाको विरोधमा बीएनपी र जमात–ए–इस्लामी दुवै पार्टीले आइतबार देशव्यापी हडतालको आह्वान गरेका छन् ।

प्रकाशित मिति: १२ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्