कोशीमा गठबन्धनको मात्रै सरकार बनाउने सोच उचित छैन : माओवादी सांसद चापागाईं

काठमाडौँ, कार्तिक १४ । कोशी प्रदेश सभा सदस्य एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले कोशी प्रदेशमा गठबन्धन दलको सहभागितामा मात्रै सरकार बनाउने कुरा उचित नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले कोशीमा सहमतीय सरकार बनाउनुपर्नेमा जोड दिएका हुन्। कोशीमा हाल एमालेको समर्थनमा कांग्रेस विद्रोही समूहका केदार कार्की मुख्यमन्त्री छन्।
चापागाईंले कार्की नेतृत्वको सरकारलाई नै प्रदेश सहमतिको सरकारमा रुपान्तरण गर्नुपर्ने र सबै दललाई सरकारमा समेट्नुपर्ने बताए।
‘संघीय गठबन्धनमा रहेका दललाई कोशीका सरकारमा ल्याए बाहिरिने एमालेको चेतावनी र एमालेलाई बाहिरै राखेर गठबन्धन दलले मात्र सरकार चलाउँने दुबै सोच प्रदेशको स्थायित्वका लागि उचित छैन । एमालेले गठबन्धन दललाई सहभागी गराए सरकार छोड्छौं भन्ने अडान त्याग्नुपर्छ। गठबन्धनका दलले पनि एमालेलाई सरकारबाट बाहिर निकालेर पुनः गठबन्धनको मात्र सरकार बाउनुपर्छ भन्नु हुँदैन।’
कोशी प्रदेशलाई स्थायित्व दिन पनि सर्वदलिय सहमतिमा सरकार सञ्चालन गर्नुपर्नेमा उनको जोड छ। ‘हाम्रो प्रदेशको गणितीय जटिलतालाई ध्यान दिँदै प्रदेश सहमतिको सरकार निर्माणमा सबैपक्ष इमान्दारपूर्वक लागौं,’ चापागाईंले भनेका छन्।
काँग्रेसको शेखर कोइराला समूहका कार्की एमालेका ३९ र आफ्नो समूहका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। तर, सत्ता गठबन्धनले पनि विश्वासको मत दिएपछि उनले सरकारलाई पूर्णता दिन सकेका छैनन्।
एमालेले आफ्नो समर्थनमा मुख्यमन्त्री बनेकाले सत्ता गठबन्धन दललाई सरकारमा नल्याउन कार्कीमाथि दबाब दिइरहेको छ। काँग्रेसले भने गठबन्धनमा सहभागी दलहरुलाई सरकारमा सहभागी गराउन कार्कीलाई निर्देशन दिइसकेको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार