Deshko News
१२ मंसिर २०८०, मंगलबार

राष्ट्रपतिबाट कैद मिनाहा पाएको व्यक्ति फेरि पक्राउ


 


काठमाडौँ, कार्तिक १५ । राष्ट्रपतिबाट कैद मिनाहा पाएका एक जना चितवनबाट फेरि पक्राउ परेका छन् ।

मकवानपुरको हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ बस्दै आएका ५५ वर्षीय रामचन्द्र थापा कैद मिनामा पाएको पाँच महिनापछि फेरि पक्राउ परेका हुन् ।

थापालाई अपहरणको धम्की दिएर फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजयराज पण्डितले जानकारी दिए ।

रामचन्द्र थापाले भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोरालाई अपहरण र हत्या गर्ने धम्की दिएर २५ लाख फिरौती मागेका थिए ।

उनी गत जेठ १४ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैदमुक्त भएका थिए ।

थापा विरुद्ध पछिल्लोपटक २०७५ मंसिर १३ मा जिल्ला प्र्रहरी कार्यालय चितवनमा डाकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।

सो मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । तर उनी ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरेर कारागार कार्यालय चितवनबाट थुनामुक्त भएका थिए ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्