स्रोत नखुलेको साढे १६ लाख रुपैयाँसहित इमरान खान पक्राउ
परासी, कार्तिक १६ । स्रोत नखुलेको १६ लाख ५० हजार नेपाली रुपैयाँसहित प्रहरीले एक जनालाई आज (बिहीबार) दिउँसो पक्राउ गरेको छ ।
प्रहरीले उक्त रकमसहित पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका २५ वर्षीय इमरान खानलाई पक्राउ गरेको हो ।
भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा रकम बरामद गर्दै पक्राउ गरेको जनाएको छ ।
रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए।
पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी बोहराले बताए । सीमावर्ती भारतीय बजारमा नेपाली नोटको कारोबार हुने गरेको छ।
नेपालबाट भारतमा कारोबार गर्ने नेपाली व्यापारीलाई रकम बुझाउन वा भारतीय रकम साट्नका लागि भारतीय व्यापारीहरूसँगबाट उक्त रकम ल्याइएको हुन सक्ने प्रहरीको आशंका छ।
प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार