नेपालका सम्मानार्थ नागरिक ‘पुतली बाजे’को निधन
पोखरा, कार्तिक १८ । पुतली बाजे नामले चर्चित बेलायती नागरिक तथा नेपालका सम्मानार्थ नागरिक कोलिन फिलिप स्मिथको निधन भएको छ ।
लामो समय पिसाव सम्बन्धि रोगले थलिएका उनको शनिबार विहान ८७ वर्षको उमेरमा पोखरा स्थित हरियो खर्क अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
स्मिथ सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका उनी सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि नेपाल आएका थिए ।
गोरखा, काठमाडौं र पोखराका विद्यालयहरुमा उनले अध्यापन गरे । उनले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई समेत अध्यापन गराएका थिए ।
उनले २०७६ मङ्सिरमा नेपालको सम्मानार्थ नागरिकता पाएका थिए ।
उनले नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली संग्रह गरेका थिए । स्मिथ पोखरा महानगरपालिका १८ मा जग्गा किनेर बसेका थिए । उनले नेपालकै युवालाई धर्मपुत्र बनाएर पाले ।
उनी नेपालको सम्मानार्थ नागरिकता पाउने दोस्रो व्यक्ति हुन् । पहिलो नागरिकता सर्वोच्चको सफल आरोहण गरेका एडमण्ड हिलारीले पाएका थिए ।
प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार