सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते
विराटनगर, कार्तिक २७ । मोरङको उर्लाबारीमा एक सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका छन् ।
लक्ष्मीपूजाको दिन (आइतबार) राति इटहरा रोडका दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते भएका हुन् ।
आगो निभाउन खटिएका प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी र थप २४ स्थानीय जलेर घाइते भएको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रमुख देबेन्द्र दासले जानकारी दिए । घटनमा उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हवल्दार मनबहादुर घिसिङ, प्रहरी जवानहरू रितिकिरण राई र दिलकुमार आचार्य घाइते छन् ।
आगोको लप्काले भेट्दा जलेर गम्भीर घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये १२ जना बीएन्डसी अस्पताल बिर्तामोड, पाँच जना न्युरो आर्या विराटनगर, सातजना विराट नर्सिङ होम विराटनगर, विराटनगरको रेडप्लस अस्पतालमा दुईजना, लाइफलाइन अस्पताल दमकमा एकजना र गोदावरी अस्पताल उर्लाबारीमा एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगोको लप्काले भेट्दा चारजनाको शरीर करिब ५० प्रतिशतभन्दा बढी जलेको छ । उनीहरूलाई कोसी प्रदेश सरकारको समन्वयमा थप उपचारका लागि काठमाडौं लग्ने तयारी थालिएको छ ।
मुख्यमन्त्री केदार कार्कीले घाइतेको उपचारमा कुनै समस्या हुन नदिन सरकारले अस्पतालहरूसँग समन्वय गरेको बताएका छन् ।
प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार