हमासको कब्जामा रहेका विपिन जोशीका बा–आमाले भेटे परराष्ट्रमन्त्री

काठमाडौं, मंसिर २ । हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइको माग गर्दै आज (शनिबार) परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका छन् ।
मन्त्री साउद गृहनगर महेन्द्रनगर आएका बेला बेपत्ता विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले भेट गरेका हुन् । उनले छोराको रिहाईका लागि छिटो पहल गरिदिन आग्रह गरेका छन् ।
छोराको चिन्ताले आफूहरुलाई सताईरहेको भन्दै विपिनका बुवाले चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनुपने माग गरे ।
भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए।
भेटमा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए। उनले कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी रारिखएको बताए ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इसराइल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएकोमा गत असोज २० गते हमास समूहले इसराइलमाथि आक्रमण गर्दा १० विद्यार्थीको ज्यान गएको थियो।
विपिनलाई भने हमासले कब्जामा लिएको थियो । उनी अझै सम्पर्कमा आउन सकेको छैनन् ।
प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार