Deshko News
१५ मंसिर २०८०, शुक्रबार

नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा खटायाे ११ सय स्वयमसेवक


 


काठमाडौं, मंसिर ३ । भूकम्पपीडितहरुको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न नेकपा (एमाले)को स्वयमसेवकको टोली आज भूकम्प प्रभावित क्षेत्र काठमाडौंबाट प्रस्थान गरेको छ ।

गत १७ कात्तिक २०८० मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबाहिर छन् । उनीहरुको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न नेकपा (एमाले)केन्द्रीय टोली आज (३ मंसिर २०८०)मा प्रस्थान गरेको हो ।

पार्टी केन्द्रीय सदस्य किरण पौडेलको संयोजक रहनु भएको टोलीलाई शनिबार नेकपा (एमाले)का अध्यक्ष क.केपी शर्मा ओलीले निर्माण सामग्री हस्तान्तरण गरेर बिदाई गर्नुभयो । बिदाई कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य रघु पन्त, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ । यो तथ्यांक जिल्ला प्रशासन र पालिकाले उद्धार तथा आपतकालीन राहतपछि संकलन थालेयताको हो ।

एक सय ५३ जनाको ज्यान जाने गरी १७ कात्तिकको मध्यराति गएको भूकम्पबाट भएको भौतिक क्षतिको तथ्यांक संकलनकै क्रममा छ ।

भूकम्पपीडितहरुको पुनःस्थापना र पुननिर्माणमा सरकारले ठोस कदम चाल्न सकेको छैन । जाजरकोटमा चिसोबाट पाँचजना भूकम्पपीडितको ज्यान गइसकेको छ ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य राष्ट्रिय युवा संघ नेपालका निर्वतमान अध्यक्ष पौडेलको संयोजक रहेको टोलीमा ११ सय जना स्वयमसेवक छन् ।

एक टोलीमा २५ जना रहने गरी ४० अलग–अलग टोली निर्माण गरिनेछ जानकारी दिइएको छ । ४० टोलीले भूकम्प प्रभावित क्षेत्रका अलग अलग स्थान छनोट गरी पिडितहरुको पुनःस्थापना र घर टहरा पुननिर्माणमा सहयोग गर्नेछ । टोलीले दुई साता काम गर्नेछ ।

पुनःस्थापना र पुननिर्माण नसकिए आवश्यकता अनुसार समय बढाएर सहयोग गर्ने अध्यक्ष पौडेलले बताए ।
स्वयमसेवक टोलीमा लुिम्बनी प्रदेशबाट दुई सय जना, कर्णाली प्रदेशबाट १ सय ५० जना, र सूदूरपश्चिम, गण्डकी, कोशी, मधेस र विशेष प्रदेशबाट ५०/५० जना सहभागी भएका छन् ।

टोलीले बढी प्रभावित क्षेत्रमा पुगेर भग्नावशेष हटाउने र आबश्यकता अनुसार घर टहरा निर्माण गर्नेछ । भूकम्पका कारण घरबारविहीन भएकाहरू त्रिपालमुनि बसिरहेका छन् । चिसो बढेसँगै दीर्घरोगी, सुत्केरी तथा गर्भवती महिला, वृद्धवृद्धा र बालबालिका समस्यामा परेका छन् ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्