भूकम्पपीडितका लागि टहरा बनाउन एक अर्ब ४१ करोड पठाइयाे


 


काठमाडौं, मंसिर ४ । सरकारले भूकम्पपीडितका लागि टहरा निर्माण गर्न पाँच जिल्लामा पैसा पठाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो।

जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा पैसा पठाइएको हो । जसमा जाजरकोट र पश्चिम रुकुमका लागि ५०(५० करोड रुपैयाँ पठाइएको छ।

बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो। प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ।

भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि २०८० हालै जारी भएको थियो।

भूकम्प पीडित प्रति परिवारलाई अस्थायी आवास बनाउन पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी कूल ५० हजार रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्