टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा अर्को रिट दर्ता

काठमाडौं, मंरि ४ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ ।
यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएकामा सोमबार अधिवक्ता जगन्नाथ दुलालसमेतले अर्को रिट दर्ता गरेका हुन् ।
रिटमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएको भन्दै सरकारको निर्णय खारेजीको माग गरिएको छ ।
त्यस्तै सरकारको निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्राचार पनि बदरको माग गरिएको छ । सोमबार दर्ता भएको रिटको पेशी भने मंगलबारका लागि तोकिएको छ ।
यसअघि शुक्रबार दर्ता भएका रिट सुनुवाइका लागि सोमबारलाई न्यायाधीश कुमार चुडालको एकल इजलासमा परेको भएपनि उक्त रिटहरु हेर्न नभ्याइनेमा परेको छ ।
प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार