खोटाङको बाक्सिलामा हरेक शनिबार श्रमदान


 


खोटाङ, ३१ जेठ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका स्थानीयबासी आफ्नो गाउँको सडक आफैँ मर्मत गर्न जुटेका छन् ।
प्रत्येक टोलमा निर्माण गरिएका सडकमा बाह्रै महिना एम्बुलेन्स तथा यातायातका सवारी साधन सञ्चालन गर्न स्थानीयबासीले प्रत्येक हप्ताको शनिबार श्रमदान अभियान सुरु गरेका हुन् ।

गत चैतको अन्तिम शनिबारदेखि सुरु गरिएको श्रमदान अभियानमा जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयबासी स्वतःस्फूर्तरुपमा सहभागी हुने गरेका छन् । अभियानअन्तर्गत सडक मर्मत, विद्यालय भवन परिसर सरसफाइ तथा मर्मत, वृक्षरोपणलगायतका गतिविधि सञ्चालन हुने गरेको छ ।

श्रमदान अभियानको दशौँ हप्ता सम्पन्न हुँदा करिब चार सय स्थानीयबासी सहभागी भइसकेको श्रमदान अभियानका संयोजक कोशीकुमार राईले जानकारी दिनुभयो । “गाउँटोलमा निर्माण गरिएका ग्रामीण सडक वर्षेनी भलबाढीले क्षति गर्छ । सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान÷ल्याउन र दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या हुन्छ”, उहाँले भन्नुभयो, “गाउँको सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन श्रमदान अभियान सञ्चालन गरेका हौँ । वडा कार्यालयको संयोजनमा सुरु गरिएको यो अभियान निरन्तर चलिरहेको छ ।”

श्रमदान अभियानका लागि देश तथा विदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरिरहेका छन् । बाक्सिलामा जन्मिएर अध्ययन तथा रोजगारीका सिलसिलामा विभिन्न ठाउँमा पुगेका स्थानीयबासीले रु एक लाख १२ हजार सहयोग गरेको संयोजक राईले जानकारी दिनुभयो ।

सङ्कलित सहयोग रकम श्रमदान अभियानमा सहभागीका लागि खाजा शीर्षकमा खर्च गर्ने गरिएको छ । बाक्सिलास्थित हल्कुममा सञ्चालित शिक्षा जयन्ती आधारभूत विद्यालयको भुइँ ढलानबाट सुरु गरिएको श्रमदान अभियानअन्तर्गत एक सय ३४ मिटर सडक सोलिङ गरिएको छ । दशकते(रातोपानी सडकमा ५७ मिटर, माक्पालीडाँमा ४५ मिटर, हयापूमा २२ मिटर र खर्कुखोलामा १० मिटर सोलिङ गरिएको संयोजक राईले बताउनुभयो ।

‘आफ्नो गाउँ, आफँै बनाऔँ’ भन्ने नाराका साथ सुरु गरिएको श्रमदान अभियान आफ्नो कार्यकालभरि जारी राख्ने वडाध्यक्ष खड्गबहादुर तामाङले जानकारी बताउनुभयो । “वडामा आएको बजेटले सबै काम सम्भव छैन । स्थानीयस्तरमा गर्न सकिने काम आफैँ गरौँ भन्ने उद्देश्यले अभियान सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “अभियानमा सबैले साथ दिएका छन् । यसले सानातिना काम राज्यको लगानी नभए पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्