मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पक्की पुल


 


खोटाङ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र मझुवागढी–६ नेर्पास्थित मेवाखोलामा पुलको काम सम्पन्न भएको हो ।

विसं २०८१ असार २२ गते दुवै मोटरेबल पुलको काम सक्नेगरी विसं २०७९ असार २२ गते निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक सात करोड ७४ लाख २५ हजारमा ती पुल बनेका थिए । हालै सम्पन्न भएको दुवै पक्की पुल २०–२० मिटर लम्बाइका छन् ।

निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको दुवै पुलको वारि र पारि दुवैतर्फको ‘एप्रोच रोड’को कामसमेत सम्पन्न भएको बताइएको छ । तोकिएको समयअगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि आवतजावत सहज भएको खोटाङ यातायात प्रालि खोटाङका महासचिव राम हिङमाङले बताए ।

सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा अर्को २० मिटर लम्बाइको मोटरेबल पुल पनि सम्झौता मितिभन्दा अघि नै निर्माण सम्पन्न भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजीव जेभी खोटाङले लिएको हो ।

विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्नेगरी २०७८ मंसिर १४ गते भ्याटबाहेक तीन करोड पाँच लाख ८० हजार १३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यद्यपि, यो छेपेखोला पुलको सम्झौता म्याद सकेर ठेकेदार कम्पनीले अर्को म्याद थपेको हो ।

निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको पुलको अन्तिम भुक्तानी लिएर सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको निर्माण कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले जानकारी दिए । छेपेखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुलको पहिलोपटक थपिएको समयसीमा असार २५ गते सम्पन्न हुँदै छ ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा निर्माणाधीन मोटरेबल पक्की पुल छिटो सक्न तथा गुणस्तर कायम गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।

“निर्माणाधीन तीनवटा पुलमध्ये दुईवटाले समयअगावै सम्पन्न गरेको छ । तोकिएको मितिअगावै पुल निर्माण सम्पन्न गर्न हामीले पनि हौसला प्रदान गर्यौं”, उनले भने, “वर्षा सुरु भएपछि त्यो काम सम्भव थिएन । तोकिएको समयभन्दा अगाडि नै पुल सम्पन्न गरेकाले ठेकेदार कम्पनीलाई पुरस्कृत गर्ने योजना बनाएका छौँ ।” रासस

प्रकाशित मिति: ४ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्