खुसीको खबर : भूकम्प आउनु २२ सेकेन्ड अघि नै जानकारी पाइने !


 


नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले भूकम्प आउनुभन्दा १० देखि २२ सेकण्डअघि  नै जानकारी दिने प्रविधि जडान गरेको छ ।

चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजनिक ठाउँमा साइरन प्रयोग गरिने छ ।

नास्टले बिहीबार खुमलटार कार्यालयमा मुख्य सिष्टम जडान गरेको छ । नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलका अनुसार भूकम्प आउनुअघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलो पटक ल्याइएको हो ।

‘शुरुमा चिनियाँ सहयोगका ८० सेन्सर राखेर काम शुरु हुनेछ, देशभर राख्न ३२० सेन्सर चाहिन्छ, जुन नास्टले नै किन्नुपर्नेछ,’ उनले भने ।

चीनको इन्स्टिच्युट अफ केयर लाइफ (आईसीएल) सिचुवानले नास्टलाई यो प्रविधि र उपकरण प्रदान गरेको हो । भूकम्पको केन्द्रविन्दु जति नजिक हुन्छ, सेन्सरले त्यति छिटो जानकारी पठाउँछ ।

नेपालका विभिन्न क्षेत्र पहिचान गरेर सेन्सर जडान गरिने पोखरेलले बताए । भूकम्प गइरहने मुलुकहरु जापान, मेक्सिकोले ७ सेकेण्डदेखि १ मिनेटअघिसम्म ‘अर्ली वार्निङ सिष्टम’ सञ्चालनमा ल्याएका छन् ।

प्रकाशित मिति: ४ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्