ट्रक र कन्टेनर ठोक्किँदा दुबै गाडीका चालकको मृत्यु
चितवन, साउन ११ । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय नम्बर प्लेटको कन्टेनर ठोक्किँदा दुबै गाडीका चालकको मृत्यु भएको छ ।
नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान सवा ६ बजेतिर मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको भारतीय कन्टेनर ठोक्किएका थिए ।
दुर्घटनामा भारतीय कन्टेनरका चालक भारतको उत्तर प्रदेश बस्ने २४ वर्षीय हेहताव आलम र ट्रकका चालक पर्साको वीरगञ्ज–२४ वस्ने अन्दाजी ४० वर्षका प्रमोद पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनामा घाइते भएका उनीहरु दुबै जनाको उपचारकाक्रममा मृत्यु भएको हो ।
भारतीय कन्टेनरका सहचालक भारतको गोरखपुर बस्ने २२ वर्षीय सावन अहमद घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार