हेलिकप्टर दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन


 


काठमाडौँ, २२साउन। सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र वरिष्ठ डिभिजनल इन्जिनियर एरोनोटिकल तनुजा पोखरेल सदस्य रहनुभएको छ ।

आयोगलाई काम सुरु गरेको मितिले ३० दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश रहेको छ ।

सञ्चारमन्त्री गुरुङले मन्त्रिपरिषद् बैठकले दुर्घटनामा परी निधन भएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै यात्रुका रहेका मृतकहरू सबै चिनियाँ नागरिक भएकाले सरकारले चीन सरकार र चिनिया जनताप्रति समेत समवेदना व्यक्त गरेको बताउनुभयो ।

आज दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाइलट र ४ जना चिनियाँ नागरिक गरी ५ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्