थारू समुदायले आज अटवारी पर्व मनाइँदै
कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदै छ । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो ।
महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको घोडाघोडी नगरपालिकाका प्रमुख भलमन्सा बुधराम चौधरीले जानकारी दिए ।
अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबार मनाइन्छ । नगरप्रमुख चौधरीका अनुसार अटवारी दुई दिन मनाउने गरिन्छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ ।
अटवारीको तयारी शनिबारसम्ममा पूरा हुनुपर्ने थारू अगुवा पञ्चराम चौधरी बताउँछन् । शनिबारको राति भिन्सर्या (दर भात) खाने चलन छ ।
आइतबार पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ । दोस्रो दिन बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ ।
व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् । दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दार्शाउने विशेष अवसर नै अटवारी हो । अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ ।
प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार