प्रधान सेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान


 


काठमाडौँ २४ भदौ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नेपाली सेनाको नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच कायममुकायम प्रधान सेनापति रथी सिग्देललाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नु भएको हो । साथै राष्ट्रपतिले नव नियुक्त प्रधान सेनापति सिग्देललाई पद तथा गोपनीयताको शपथ समेत गराउनु भएको थियो ।

शीतल निवासमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधान तथा अर्थमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाली सेनाका रथीबृन्द लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

मन्त्रीपरिषद् बैठकले सिग्देललाई महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न गरेको सिफारिस बमोजिम राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम आज महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नुभएको थियो ।

सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसै गरी उहाँले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा कार्यालय बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हाल्नु भएको छ ।

विसं २०२३ माघ १९ गते रुपन्देही जिल्लामा जन्मनु भएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गर्नु भएको थियो । मिति २०८१ श्रावण २५ गतेबाट उहाँले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्