कांग्रेस नेता शाहीको मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा
काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेसका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा हुने भएको छ ।
यही कात्तिक २३ गतेदेखि युवा संकल्प यात्रा सुरू गरिने शाहीले जानकारी दिए । भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर पूर्व–पश्चिम संकल्प यात्रा गर्न लागेको उनले जानकारी दिए ।
सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने माग राखिएको छ ।
सहकारी पीडितलाई तत्काल राहत तथा बचत फिर्ता गरिनुपर्ने, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गरिनुपर्ने एजेन्डासमेत शाहीले उठान गरेका छन् । युवा संकल्प यात्रा एक महिनासम्म चल्नेछ ।
प्रकाशित मिति: १५ कार्तिक २०८१, बिहिबार