राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट


 



काठमाडौँ, १४ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नुभएको छ ।

राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले भेट गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरज़ु राणा देउवा पनि सहभागी हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो।

यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्