उपनिर्वाचनको परिणाम दुई दिनभित्रै सार्वजनिक गर्ने तयारी


 


काठमाडौँ, मंसिर १६ । निर्वाचन आयोगले उपनिर्वाचनको मत परिणाम दुई दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।

आज (आइतबार) बिहानदेखि शुरू भएको मतदानको अन्तिम नतिजा सोमबार अबेरसम्ममा आइसक्ने आयोगले जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए । उनले यसका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधिको सहयोग आवश्यक रहेको बताए ।

वडामा एकभन्दा बढी मतदान केन्द्र भएका स्थानमा मतपेटिका एकै ठाउँमा ल्याउनुपर्ने भएकाले मतगणना केही ढिलो हुनसक्ने छ ।

उपनिर्वाचनले नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ जनालाई निर्वाचित गर्ने छन् ।

रिक्त ४४ पदमध्ये तीन पदमा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्