रविसहितलाई रिहा गर्ने आदेशविरुद्ध उच्च अदालतमा निवेदन


 


पोखरा, माघ ८ । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको आदेश बदर गरिपाऊँ भनी उच्च अदालतमा निवेदन परेको छ ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालय पोखराले सोमबार उच्च अदालत पोखरामा पुनरावेदन गरेको हो । उच्च सरकारी वकिल कार्यालय पोखराका सूचना अधिकारी सहायक न्यायाधिवक्ता महेश अर्यालले सो सहकारी ठगीसमेत मुद्दाका सातै जना प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिपाऊँ भनी निवेदन दिइएको जानकारी दिए ।

गत २५ पुसमा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ती प्रतिवादीलाई फरक–फरक धरौटी रकम माग गर्दै रिहा गर्ने आदेश दिएको थियो । सो आदेशबमोजिम लामिछाने ८४ दिन हिरासतपछि थुनामुक्त भएका थिए ।

उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिस्ट्रार विश्वनाथ अर्यालले निवेदन परेको पुष्टि गर्दै अब मंगलबार (आज) एकल इजलासमा पेस हुने जानकारी दिए ।

सूर्यदर्शन सहकारी प्रकरणमा अदालत उपस्थित गराइएका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, गण्डकी प्रदेशका पूर्वसांसद मीना गुरुङसमेत सात जनालाई अदालतले धरौटीमा रिहाको आदेश दिएपछि सबै जना धरौटी बुझाई रिहा भएका थिए ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्