महाकुम्भबाट फर्किँदै गर्दा दुर्घटनामा मृत्यु भएकाहरुको शव नेपाल ल्याइँदै


 


काठमाडौँ, माघ २० । भारतको मधुवनीमा हिजो (शनिबार) दिउँसो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने पाँच जना नेपालीको शव आज नेपाल ल्याउने तयारी गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका महोत्तरी, धनुषा र सिराहाका पाँचजना नेपालीको शव नेपाल ल्याउन लागिएको हो ।

मृतकको शव लिनको लागि आफन्त भारततर्फ प्रस्थान गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए । उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गरेर फर्किंरहेका नेपाली यात्रु सवार बी आर ३२ पी ए ४६६१ नम्बरको गाडी भातरको मुजफ्फपुरस्थित सदरथाना क्षेत्रको मादापुरमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको थियो। दुर्घटनामा अन्य चारजना नेपाली घाइते भएका छन्।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ निवासी ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ घर भएका ५० वर्षीया मनतारन देवी र धनुषाको नगराइन नगरपालिका गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छिन् । गाडी चालकको पहिचान खुलेको छैन ।

सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी र नातिनी आठ वर्षीया सृष्टि झा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। बालिका सृष्टि अर्चनाकी छोरी हुन् ।

प्रकाशित मिति: २० माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्