विवाह भएको दुई महिनामै श्रीमतीको हत्या, श्रीमान फरार

महोत्तरी, माघ २१ । महोत्तरीमा एक जनाले बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको गौशाला नगरपालिका–८ कि २१ वर्षीया खुश्वु यादवको उनका पति अभिषेक यादवले हत्या गरेका हुन् ।
विवाह भएको दुई महिनामै अभिषेकले श्रीमतीको हत्या गरेको आरोप माइती पक्षले लगाएका छन् । मृतक युवतीका पति हाल फरार छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने यस विषयमा अनुसन्धान थालेको छ । जिप्रका महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले युवकको खोजी भइरहेको हत्यामा परिवारका अन्य सदस्यको पनि मिलेमतो रहेको आशंका गरिएको बताए ।
उनका अनुसार खुश्बुको शव आइतबार दिउँसो गौशाला वडा नम्बर– ५ को एकान्त ठाउँमा रहेको भिसघारीमा फेला परेको हो। विवाह भएदेखि नै पति पत्नीबीच झगडा हुँदै आएको स्थानीयले बताएका छन् । दाइजोको निहुँमा हत्या भएको आशंका स्थानीयको छ ।
‘धारिलो हतियारले दाहिनेतर्फको कानदेखि नाकसम्म काटिएको अवस्थामा खुश्बुको शव फेला परेको उनले बताए । हतियारले घाँटीको केही भागमा पनि घाउ लागेको प्रहरीले जनाएको छ।
खुश्वुको माइतीघर महोत्तरीकै सम्सी गाउँपालिका– १ पर्सादेवाड हो । स्थानीय लक्ष्मण यादवकी छोरी खुश्बुको गएको मंसिर ७ गते मात्रै गौशाला– ८ बेलगाछीका चन्देश्वर यादवका छोरो अभिषेक यादवसँग मागी विवाह भएको थियो । उनको शव आइतबारै जलेश्वर अस्पतालमा पोस्टमार्टमपछि माइती पक्षको जिम्मा लगाइएको डीएसपी जैसवालले बताए ।
प्रकाशित मिति: २१ माघ २०८१, सोमबार