पाथीभरा केबलकार आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति


 


काठमाडौं, माघ २३ । सरकारसँग ६ बुँदे सहमति भएपछि पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ । मंगलबार राति पाथीभरा संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएछ ।

माघ २७ गते बस्ने अर्को वार्ताले त्यहाँका असहमतिलगायत विषयको टुंगो लगाउने बताइएको छ ।

गृह मन्त्रालयले गठन गरेको वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईका अनुसार राति काठमाडौंमा भएको वार्तामा आन्दोलन स्थगित गर्नेलगायत सहमति भएको हो ।

सहमतिको पहिलो बुँदामा पाथीभरा केबलकारको स्टेशनमाथिको निर्माण कार्य तत्काल स्थगन गर्ने र माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ । सरकारले घोषणा गरेअनुसार घाइतेहरूको निःशुल्क र प्रभावकारी ढंगले उपचार गर्ने सहमति भएको छ ।

यस्तै, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ । पाथीभरा केबलकारको विषयमा भएको आन्दोलनमा पक्राउ परेकाहरूलाई रिहा गर्ने सहमति भएको छ ।

लिम्बुहरूको मुक्कुम्लुङ पाथीभारामा एक तीर्थस्थल हो । आफ्नो तीर्थस्थल मासिने भन्दै त्यहाँका लिम्बु समुदायले ‘नो केबलकार’ आन्दोलन थालेका थिए । पाथीभरामा केबलकार परियोजना नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको आइएमई ग्रुपले बनाइरहेको छ ।

सुरूमा यती समूह, त्यसपछि लक्ष्मी इन्टर्कन्टिनेन्टल हुँदै शिलान्यासको चरणमा आइपुग्दा आईएमई समूह परियोजनामा जोडिएको थियो । गएको नोभेम्बर महिनामा उक्त आयोजना शिलान्यास गरियो । त्यसपछि लिम्बु समुदायले आफ्नो ‘मुन्धुम’ संस्कृतिमाथि अतिक्रमण गर्न खोजेको, स्थानीय प्राकृतिक स्रोतसाधनलाई व्यापारिक स्वार्थपूर्तिका लागि दोहन गर्न खोजेको भन्दै आन्दोलन चर्किएका थिए ।

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्