अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो

गण्डकी, २३ माघ । नेपाल पर्वतारोहण सङ्घले २२औँ अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
दिवसका अवसरमा आज पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा वृक्षरोपण, कविता वाचन एवंं पर्यटक पथपर्दशकलाई सम्मान गरियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुणकुमार चौधरी, मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले वृक्षरोपण गर्नुभयो । उक्त अवसरमा राष्ट्रिय झण्डासहित नेपाल पर्वतारोण सङ्घको झण्डा झण्डोत्तोलन गरिएको थियो ।
मन्त्री पाण्डेले सङ्ग्रहालयका गतिविधिबारे जानकारी लिँदै पोखराको पर्यटनमा सङ्ग्रहालयले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले नेपाल पर्वतारोहण सङ्घका पूर्वसंस्थापकहरू स्व डा हर्क गुरुङ, स्व कुमार खड्ग विक्रम शाह र स्व दावानोर्बु शेर्पाको शालिकमा माल्यार्पण गर्नुभयो ।
संस्कृति पर्यटन तथा नगरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटनका क्षेत्रमा परिणाम देखिने काम सरकारले गरिरहेको बताउँदै पर्वतीय पर्यटकको विकासका लागि सम्बद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
पर्यटन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालको पर्यटन र पोखरा एक सिक्काका दुई वटा पाटा रहेको बताउँदै यहाँ सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयले पोखरासहित समग्र पर्यटनमा विशिष्ट योगदान गरेको बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पर्वतीय पर्यटनका विभिन्न पक्षलाई सङ्ग्रहालयमा जीवन्त चित्रण गरिएको बताउनुभयो ।
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराका कार्यालय प्रमुख निर्मला न्यौपानेले पोखरामा आउने पर्यटकका लागि नछुटाउने गन्तव्यका रुपमा सङ्ग्रहालय विकास भएको बताउँदै वार्षिक दुई लाख पर्यटकले अवलोकन गर्ने गरेको जानकारी दिनुभयो ।
वरिष्ठ साहित्यकार सरुभक्तले हिमाल जोखिममा परिरहेको बताउँदै यिनीहरू सङ्कटमा पर्दा समग्र पर्वतीय पर्यटन प्रभावित हुने बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेश गुरुङले पोखरा प्रकृतिको बरदान भएको बताउँदै यहाँस्थित सङ्ग्रहालय मानव निर्मित गन्तव्य भएको बताउनुभयो ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० का वरिष्ठ उपाध्यक्ष कर्म शेर्पा, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिनालगायतले पर्वतीय पर्यटनका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।
पर्यटक पथ प्रदर्शकलाई सम्मान गरिनुका साथै मुक्तक मञ्च पोखराका अध्यक्ष अम्बिका भण्डारी, साहित्यकार पूर्णिमा प्रतिविम्बि र सुरज उपाध्यायले कविता वाचन गर्नुभएको थियो ।
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार