पूर्वी र मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना


 


शुक्रबार मध्याह्न १२:३० बजे भूउपग्रहबाट प्राप्त तस्बिर। बंगालको खाडी हुँदै पूर्व–दक्षिणबाट नेपाल प्रवेश गर्ने क्रममा जलवाष्पयुक्त बादल । तस्बिर सौजन्यः मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, असार १२

चार दिन ढिलोगरी जेठ ३० बाट भित्रिएको मनसुन शुक्रबारदेखि सक्रिय बनेको छ। राजधानीलगायत पूर्व र मध्य नेपालमा यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाले पूर्व र मध्य क्षेत्रमा शुक्रबार साँझदेखि शनिबारसम्म भारी वर्षा हुने अनुमान गरेको छ। मनसुन सुरु भएयताको पहिलो ठूलो र नियमित वर्षाले पूर्वी पहाडी भेगमा पहिरो तथा तराईमा बाढीको सम्भावना रहेको भन्दै महाशाखाले ‘सचेत रहन’ सर्वसाधारणलाई अपिलसमेत गरेको छ।

बंगालको खाडीबाट पानीका कणयुक्त बादल शुक्रबार बिहानदेखि नियमित नेपाल प्रवेश गरेपछि भारी वर्षाको सम्भावना औंल्याइएको हो। महाशाखाले मात्र नभई छिमेकी मुलुक भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले पनि बिहार, सिक्किम र पश्चिम बंगालमा भारी वर्षाको सम्भावना औंलाएको छ।
छैटौँ दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले यस वर्ष पश्चिमको उच्च पहाडी र हिमाली जिल्ला तथा दक्षिणपूर्वी भूभागमा सरदर र बाँकी भूभागमा त्यो भन्दा कम पानी पर्ने अनुमान गरेको थियो। ‘आज दिउँसो र राति त्यस क्षेत्रमा भारी वर्षाको सम्भावना छ, त्यसैले हामीले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेका हौं,’ महाशाखाका मौसमविद समिर श्रेष्ठले शुक्रबार दिउँसो बताएको खबर अाजकाे नागरिक दैनिकले छापेकाे छ।
त्रिभुवन विमानस्थलस्थित महाशाखाले आफ्नो वेभसाइटमा बिहान सवा आठ बजे एक विज्ञप्ति जारी गर्दै पूर्वका सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको थियो। यस वर्षको मौसम चारदिन ढिलो गत जेठ ३० गते कमजोर अवस्थामा नेपाल प्रवेश गरेको थियो। मौसमविद श्रेष्ठका अनुसार पूर्वी जिल्लाका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
यसले गर्दा पहिरो जाने जोखिम त्यत्तिकै छ। ‘पानी पर्ने र पूर्वबाट जलवाष्पयुक्त हावा आउने क्रम बढ्दै गएकाले भारी वर्षाको अनुमान गरेका हौं, त्यसले पहिरो जाने सम्भावना पनि बढन सक्छ,’ उनले भने। मौसम मापन केन्द्र भएका स्थानमा त्यत्ति पानी नपरेको भए पनि अन्यत्र धेरै वर्षा भइरहेको भूउपग्रहबाट प्राप्त भइरहेका तस्बिरले पुष्टि गरेको जानकारी श्रेष्ठले दिए।
उनका अनुसार त्यस क्षेत्रमा मनसुन पूर्णरूपले सक्रिय भएको छ, पूर्वका केही स्थानमा भारी वर्षा हुनसक्छ। ‘बंगालको खाडीबाट आएको मौसम प्रणालीको एक हिस्सा पश्चिमतर्फ (मध्य नेपाल) सरिरहेको छ।
यसले मध्यनेपालका पहाडी र तराईका जिल्लामा पनि त्यत्तिकै पानी पार्ने सम्भावना छ,’ श्रेष्ठले भने। उनका अनुसार राजधानीमा शुक्रबार दिउँसो परेको हल्का वर्षा केही क्षणमा कम भए पनि पूर्वबाट आएको जलवाष्पयुक्त कणले गर्दा राति धेरै वर्षा हुनसक्छ।
‘मध्यक्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ,’ उनले भने, ‘उपत्यकामा धेरै वर्षा हुनसक्छ।’ बिहीबार बिहानदेखिको अविरल वर्षाका कारण सुदूर र मध्यपश्चिम क्षेत्र जलमग्न भइरहेको छ।
‘ती क्षेत्रमा यो मौसम प्रणाली आजबाट कम हुन्छ किनकि यो त्यतै विकास भएको सानो प्रणाली थियो, अब पानी पनि थामिन्छ,’ श्रेष्ठले भने। उनका अनुसार पूर्वबाट गएकै प्रणालीले शनिबारदेखि मध्य र सुदूरमा प्रभाव पारेर फेरि वर्षा हुनेछ।

प्रकाशित मिति: १२ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्