नेदरल्याण्डविरुद्धको पहिलो टी-२० मा नेपाल पराजित


 


काठमाडौं, असार १६

नेदरल्याण्डविरुद्धको पहिलो टी-२० क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । यससँगै चार म्याचको श्रृखलामा नेपाल १-० ले पछि परेको छ ।

मंगलबार राति नदेरल्याण्डले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाएर ११६ रन मात्र बनाउन सक्यो ।

नेपालको सुरुवात राम्रो रहेन । ओपनिङमा सुवास खकुरेल र ज्ञानेन्द्र मल्ललाई खेलाइएको थियो । तर, स्कोर बोर्डमा मात्र १२ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । खकुरेल मात्र २ रनमा आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङका लागि विनोद भण्डारी आए । तर, ज्ञानेन्द्रसँग १२ रनको साझेदारी गर्दै उनी पनि ब्यक्तिगत ५ रनमा आउट भए ।  थप ९ रन जोड्दा नेपालले तेस्रो विकेट गुमायो । उपकप्तान ज्ञानेन्द्र २४ रनमा पभेलियन फर्किए ।

चौथो विकेटका लागि कप्तान पारस खड्का र राजेश पुलामी मगरले ३१ रनको साझेदारी गरे । राजेश मात्र १३ रनमा रन आउट भए । छैटौं नम्बरमा ब्याटिङमा आएका शरद भेसवाकरले पनि कप्तान पारसलाई साथ दिन सकेनन् । उनी १६ रनमा आउट भए ।

प्रदिप ऐरी ६ र करण केसी २ रनमा आउट भए । पारस खड्का ४५ र बसन्त रेग्मी १ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १३४ रन बनाएको थियो । उसको पनि सुरुवात राम्रो थिएन । ३२ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको  थियो ।

तर उसका लागि स्टफेन माइबर्गले अविजित ६७ रनको पारी खेले । रिपोन २५ रनमा अनआउट रहे ।

नेपालका बसन्त रेग्मीले २ तथा करण केसीले १ विकेट लिए ।

प्रकाशित मिति: १६ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्