राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो सवा १ बजे बस्नेछ ।

आजको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।

यस्तै, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उक्त प्रस्ताव स्वीकृत भएपश्चात् बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची तय गरिएको छ ।

यता प्रतिनिधिसभाको बैठक पनि आज दिउँसो १ बजे बस्दैछ । बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल सुरु गर्ने कार्यसूची रहेको छ।

यही १७ जेठमा प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएपछि सदनका दुवै बैठक एक साताका लागि स्थगित भएका थिए ।

यद्यपी एक सातापछि हिजो बसेको प्रतिनिधिसभा बैठक विपक्षीको विरोधका कारण सञ्चालन भने हुन सकेको थिएन।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्