चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने



वासिङ्टन डीसी । चीनले वार्षिक कम्तीमा १७ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी कृषि उत्पादन खरिद गर्न सहमति जनाएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले बताएको छ । यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच हालै भएको शिखर वार्तापछि आएको हो । यो प्रतिबद्धता सन २०२८ सम्म लागू रहनेछ ।

ह्वाइट हाउसका अनुसार यो नयाँ सहमति २०२५ को अक्टोबरमा भएको सोयाबिन खरिद सम्झौताभन्दा बाहिरको हो । यसले अमेरिकी कृषि निर्यातलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ । चीनको वाणिज्य मन्त्रालयले पनि वार्तापछि केही व्यापारिक सहमतिहरू सार्वजनिक गरेको छ । दुवै देशले ट्यारिफ (अतिरिक्त भन्सार महसुल) घटाउने विषयमा नयाँ व्यापार बोर्डमार्फत छलफल गर्ने सहमति गरेका छन् ।

मन्त्रालयका अनुसार कृषि उत्पादनसहित केही वस्तुहरूमा समान स्तरमा भन्सार महसुल घटाउने विषयमा प्रारम्भिक सहमति भएको छ । यो सम्झौता दुई देशबिच व्यापार तनाव कम गर्ने प्रयासको रूपमा हेरिएको छ, जसमा व्यापार, ताइवान र इरानजस्ता संवेदनशील विषयहरू पनि छलफलमा आएका थिए ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्