साउदी लैजाने भन्दै ठगेको ५० हजार माग्दा ज्यान मार्ने धम्की


 


खोटाङ, असार २०

“एजेन्ट खोज्दाखोज्दै सोह्र वर्ष बित्यो, अब त हैरान भइसकेँ” निकै निराश हुँदै उनले भने– “सक्नुहुन्छ भने, मलाई न्याय दिलाइदिनुस् ।”

 जिल्लाको उत्तरी गाविस महेश्वरी–७ का बदले कामीले सदरमुकाम दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रमा आएर यस्तो बिलौना गरेका हुन्। कामीलाई आफन्तले विदेश पठाइदिन्छु भन्दै ठगी गरेपछि उनको खोजीमा हिँडेको १६ वर्षपछि सूचना केन्द्र गुहार्न आएका थिए।

 आफ्नै मामाको छोरा बाकाचोल– ४ का गणेश विश्वकर्माले २०५६ सालमा विदेश पठाइदिन्छु भन्दै उनीबाट ५० हजार लिएको बदलेको भनाइ छ । उनले भने– “तिमीलाई साउदी लैजान्छु भन्दै पैसा लिए, पैसा लिएपछि न विदेश पठायो, न त पैसा नै फिर्ता दियो । बरु त्यो पैसाले आफूचाहिँ साउदी गएर आएपछि धरान बसाइँ सरेर राम्ररी घरजम गरेर बसेका छन् ।”

 ऐसेलुखर्क बजारमा सुनचाँदीको गहना बनाउने काम गर्दै आएका बदलेलाई विदेशबाट ठाँटिएर गाउँ आएका गणेशले भेट हुनासाथ विदेश जान अनुरोध गरेको उनले बताए। त्यो क्षण सम्झँदै उनले भने– “तपाईं नाताको मान्छे भनेर साउदीमा सुन पुछ्ने कामको भिसा ल्याइदिएको छु, अब विदेश जानुपर्छ । तत्काल धरौटी रकम खोज्नुस्, मासिक १२ हजारभन्दा बढी कमाई हुने ठाउँमा काम लगाइदिन्छु भनेपछि म पनि विदेश जान तयार भएको थिएँ, अन्तमा फसादमा परेँ ।”

 विसं २०५६ मा लिएको ५० हजार ऋण बढेर अहिले सात लाख नाघेको बदलेको भनाइ छ । उनले भने – “सयकडा तीन रुपैयाँका दरले ब्याजमा काढेको ऋण तिर्नलाई हातमा फुटेको कौडी छैन, यता माग्यो उता ति¥यो । घर व्यवहार चलाउन त परैजाओस्, त्यही रकम फिर्ता गरेर साहुको ऋण तिर्न पाए हुन्थ्यो ।”

 घरमा पालिएको दुहुनो भैँसी, हल गोरु सबै साहुले लगिसकेको उनको भनाइ छ । गहभरी छचल्किएको आँसु पुछ्दै उनले भने– “साहुले दुहुनो भैँसी र हल गोरु तान्दै लैजाँदा मेरा छोराछोरी र श्रीमतीको मन कस्तो भयो होला, सोच्न पनि सक्दिनँ।”

 बदलेका अनुसार विदेश लैजान्छु भन्दै उनलाई ठगी गर्ने गणेश हाल साउदी अरबमा रहेका छन् । उनको परिवारलाई सम्पर्क गर्दा उल्टै ज्यान मार्ने धम्की दिने गरेको उनले बताए।

यसबारे पीडित बदलेसँग रहेको कागजपत्रका आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाइने सूचना केन्द्रका कार्यक्रम अधिकृत रमेश राईले बताए। उनले भने– “ठगी गर्ने र ठगीमा पर्ने दुवैजना जिल्लाकै भएकाले चाँडै नै समस्याको समाधान हुने सम्भावना छ, यसका लागि प्रहरीसँग समन्वय गरिरहेका छौँ ।” रासस

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्