राजेश पायलले ममताको हातमा फूल राख्न खोजेपछि …(भिडियो सहित)


 


नेपाली साँगीतिक ग्यालरीमा नयाँ नयाँ प्रस्तुतिहरुको सृजना दिनानुदिन वृद्धि भईरहेको छ । यसै क्रममा फूलै राखी हातैमा विन्ति बिसाउँ कि भेट भो आज मौकैले साथै लैजाउ कि बोलको पुर्वेली लोक भाका सार्वजनिक भएको छ ।

सिडीएम म्युजिक क्रिएशनको प्रस्तुति गायिका ममता राईको एल्बम ‘ममता–२’मा समावेश यो गीतको भिडियोलाई राजधानीमा शनिबार एक समारोहबीच सार्वजनिक गरिएको हो ।

एल्बम ‘ममता–२’ सार्वजनिक कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो । एल्बमको गायिका मिरा राणा, संगीतकार तथा प्राज्ञ शान्तिराम राईलगायतले विमोचन गरे ।

उल्लेखित शब्दलाई गायिका ममता राई र भर्सटायल गायक राजेशपायल राईले मिठो पुर्वेली लोकभाका गाएका छन् ।

कार्यक्रममा बोल्दै गायिका मीराले भनिन्, ‘ममताको स्वरमा साँच्चीकै मिठास पाएँ ।’ उनले सार्वजनिक गरिएको भिडियो तथा गीतको पनि खुलेर प्रशंसा गरिन् ।

‘गीत तथा भिडियो त यस्तो पो हुनुपर्छ’ गायिका मीराले भनिन्, ‘यो गीतले मेरो पनि मन छोयो ।’ त्यस्तै, संगीतकार शान्तिरामले लामो समयपछि पुर्वेली लोकभाकाको मन छुने गीत तथा भिडियो हेर्न पाएको बताए ।

उनले गायिका ममतालाई सफलताको शुभकामना दिँदै भने, ‘पछिल्लो समय हराउन लागेको पुर्बेली लोकभाकालाई ममताले ब्युताएकी छन् ।

यो एल्बम तथा भिडियोको सफलताका लागि शुभकामना छ ।’ पत्रकार एमपी सुब्बाले निर्देशन गरेको ‘फूलै राखी हातैमा।।।’

गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल तथा अभिनेत्री निशा लिम्बू पोमु र गायक रुकमान लिम्बूले अभिनय गरेका छन् । भिडियोमा निशा र रुकमानको केमेष्ट्री खुबै सुहाएको छ ।

द हाइल्याण्ड आर्ट, तेह्रथुमे ढाका बुटिक र रुपा आङबुहाङले तयार गरेको पहिरन तथा गरगहनामा निशा निकै खुलेकी छन् भने मोडलका रुपमा प्रस्तुत गायक रुकमान तेह्रथुमे ढाका बुटिककी निरु आङबुङले तयार गरेको दाउरा–सुरुवाल र ढाका टोपीमा टिपिकल देखिएका छन् ।

यस भिडियोलाई नविनबाबु गुरुङले खिचेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् । कार्यक्रममा भिडियो हेरिसकेपछि अतिथि तथा सञचारकर्मीले मोडलद्वय निशा र रुकमानको अभिनय र पहिरनको प्रशंसा गरेका थिए ।

‘गीतको भावअनुसार पहिरन कम्बिनेशन एकदमै मिलेको छ’, ‘कार्यक्रममा अतिथिका रुपमा उपस्थित गायक तुलसी पराजुलीले भने, ‘यहाँहरुको मिहिनेतलाई मैले माने ।

भिडियो धेरै राम्रो बनेको छ ।’ गायिका ममताको यो दोस्रो एल्बम हो । यसअघि ‘ममता’ ल्याएकी ममताले त्यसैको सिरिज ‘ममता–२’ ल्याएकी हुन् । निरन्तरताका लागि एल्बम ल्याएको गायिका ममताले बताइन् ।

‘एल्बम त बिक्री हुन्न’ उनले भनिन्, ‘तर, एल्बम निकाल्नुपर्छ भन्ने सोचलाई निरन्तरता दिँदै ‘ममता–२’ ल्याएकी हुँ ।’ एल्बममा ६ गीत समावेश छन् ।

शिरै फूल मेरो, कमलमुखी, फूलै राखी, तिमी मेरो, लेखमा फूल्ने र हाकु पटासी जस्ता बोलका गीत एल्बममा रहेको छ । जसमध्ये ‘फूलै राखी’ को भिडियो सार्वजनिक गरिएको हो ।

एल्बममा शिवसंगम राई, भूपाल राई, रुद्रकुमार राई, इन्द्र जिजिबिसा, खगेन्द्र यक्सो, धुव्रसत्य परियारलगायतको शब्द तथा संगीत रहेको छ ।

प्रकाशित मिति: ६ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्