हङकङसँग भिड्दै छ नेपाल


 


काठमाडौं, असार ३०
नेपाली क्रिकेट महत्वपूर्ण मोडमा छ। जारी ट्वान्टी–२० विश्वकप छनोटमा धर्मराएको नेपाली अभियानसामु बाटोमा हङकङ भेटिएको छ। नेपालले तीन वर्षअघि त्यही हङकङलाई २८ रनले हराउँदै ट्वान्टी–२० विश्वकप छनोटमा यात्रा सुरु गरेको थियो।
संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न त्यो संस्करणमा हङकङविरुद्धको पहिलो खेल सहजै जिते पनि नेपाललाई सफलता मिल्न सकेन। तर, लगत्तै अर्को वर्ष फेरि प्रतियोगिता युएईमै हुँदा नेपाल पहिलोपल्ट ट्वान्टी–२० विश्वकपमा छनोट भयो।
जहाँ हङकङविरुद्धकै खेलमा अन्तिम बलसम्म संघर्ष गर्दै ५ विकेटको रोमाञ्चक जित पाएपछि नेपालले बंगलादेशमा गत वर्ष सम्पन्न विश्वकपमा स्थान सुरक्षित गरेको थियो। अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा शरद भेषावकरको ब्याटले नेपाललाई ऐतिहासिक जित दिलाएको थियो।
अहिले आयरल्यान्ड र स्कटल्यान्डमा जारी प्रतियोगितामा अमेरिकालाई हराउँदै सुखद सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा वर्षा बाधक बन्दा नामिबियासँग अंक बाँडनुपर्योक। तेस्रो खेलमा सोमबार आयोजक आयरल्यान्डसँग लज्जाजनक पराजय भोगेपछि नेपालको लगातार दोस्रोपल्ट विश्वकप छानिने लक्ष्य कमजोर बनेको छ।

समूह ‘ए’ मा आयरल्यान्डसँगको हारपछि नेपाल चौथो स्थानमा छ। १४ टोली सहभागी प्रतियोगिताको दुवै समूहका शीर्ष टोली स्वतः भारतमा अर्को वर्ष हुने विश्वकपलाई छानिन्छन्। दोस्रो हुनेले अर्को समूहको तेस्रो हुने टोलीसँग प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा जित्ने विश्वकप छनोट हुन्छन् भने पराजित हुने दुई टोलीले समूहमा चौथो स्थान हासिल गर्ने टोलीसँग अर्को एक प्लेअफको मौका पाउँछ।

समूहको शीर्ष स्थानमा रहेर भारत यात्रा पक्का गर्ने सम्भावना नेपालका लागि व्यावहारिक छैन। त्यसैले दोस्रो वा तेस्रो स्थान हासिल गरेर प्लेअफमा दुईपटक मौका लिन सके पनि त्यो नेपालका लागि फलदायी हुनेछ। त्यसका लागि फेरि बाटोमा आएको हङकङलाई बुधबार हुने खेलमा पन्छाउन सक्नुपर्नेछ।

नेपालका प्रशिक्षक पुबुदु दासानायके हङकङलाई ‘एक/दुई राम्रा खेलाडी भएको टोली’ भन्न रुचाउँछन्। तर हङकङसाग पनि ढुक्क भएर नबस्ने उनले बताए। ‘उनीहरूको टोलीमा इरफान अहमद एक जनामात्र अलि खतरनाक खेलाडी हुन्। हामी पनि आरामदायी अवस्थामा छैनौं,’ पुबुदुले भने, ‘तर, हाम्रो टोलीमा पनि यस्तो अवस्थासँग जुध्न पर्याप्त प्रतिभा र क्षमता छ। हामी प्रतियोगिताका बाँकी खेलमा कडा मिहिनेतसाथ राम्रो प्रदर्शनको प्रयास गर्नेछौं।’

त्यसो त हङकङ नेपालका लागि अत्यन्तै चिरपरिचित प्रतिद्वन्द्वी हो। ट्वान्टी–२० क्रिकेटको प्रतिस्पर्धात्मक खेलमा त हङकङमाथि नेपालको विगत राम्रो पनि छ। गत वर्ष बंगलादेशमा सम्पन्न विश्वकपमा पहिलोपल्ट छनोट भएको नेपालले चित्तागोङमा पहिलो खेल हङकङविरुद्ध नै खेलेको थियो। त्यो खेलमा पाएको ८० रनको जित ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा प्रभावशालीमध्ये एक हो। त्यही वर्ष श्रीलंकामा सम्पन्न हङकङविरुद्धको चार अन्तर्राष्ट्रिय खेलको शृंखला वर्षाका कारण बिथोलियो। एकमात्र खेल सम्भव हुँदा त्यसमा भने हङकङले २ विकेटको विजय पाएको थियो।

काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कप २०११ को समूह चरणमा नेपालले २ विकेटको विजय हासिल गरेको थियो भने दुई वर्षपछि काठमाडौंमै भएको प्रतियोगिताको अर्को संस्करणमा हङकङ ६ विकेटले विजयी भएको थियो। २०१३ को संस्करणमा फाइनल पुगेको नेपाल उपाधि भिडन्तमा अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

प्रकाशित मिति: ३० असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्