सप्तरीमा तालीमप्राप्त कुकुरसहित प्रहरी परिचालन, कति छन् अतिसंवेदनशील मतदानस्थल ?



राजविराज, भदौ २८

आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

सम्बन्धित मतदान केन्द्रमा समेत प्रहरी टोली पठाइसकेको जानकारी दिँदै कुनै घटना हुन नदिनको लागि विशेष तालीम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, लागुऔषध र विस्फोटक पदार्थको खोजी गर्ने विशेष तालीम प्राप्त जर्मन शेफर्ड नामक कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गराउनका लागि सप्तरी जिल्लामा करिब चारहजार नेपाल प्रहरी र दुईहजार सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

सप्तरी जिल्लामा १८ वटै स्थानीय तहमा करिब २९५ वटा मतदानस्थल रहेका छन् जसमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशील रहेको बताइएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्ने उद्देश्यकासाथ जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

सप्तरीमा तीनलाख ३१ हजार ७९ मतदाता रहेकोमा एकलाख ७० हजार ८८८ पुरुष र एक लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News