एक वर्षमा ११ हजार पर्यटकद्वारा कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन


 


इनरुवा, असोज २०
पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् ।

सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७३/०७४ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।

आरक्षमा एक वर्षको अवधिमा नेपाली पर्यटक ११ हजार दुई जना, सार्क मुल्कका ५४ र विदेशी मुलुकका १९६ गरी जम्ममा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेको संरक्षण अधिकृत साहले बताए ।

आरक्षमा सबैभन्दा बढी वैशाख महिनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम पुस महिनामा पर्यटक आएको तथ्यांकले देखाएको छ । आरक्षमा वैशाखमा एक हजार ८७४ जना पर्यटक आएको छ भने पुस महिनामा १२३ जना पर्यटक आएको छ ।

आरक्षमा आवलोकन गरेको पर्यटकबाट सोही आर्थिक वर्षमा रु सात लाख ८५ हजार १०० राजस्व संकलन भएको आरक्षले जनाएको छ ।

आरक्षमा रहेको विभिन्न किसिमका चराचुरुङ्गी, अर्ना, हात्तीलगायतका जंगली जनावरको अवलोकन गर्नका लागि पर्यटक आउने गरेका छन् ।

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्