दुर्गम जिल्लामा यसरी हुन्छ हवाई टिकटमा अनियमितता


 


बाजुरा, असोज २०

कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् ।  कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् ।

तीन हजार ७६० भाडा कायम गरिएको भए पनि कसैले कार्यान्वयन गरेका छैनन् । दशैँको मुखमा आएर दोब्बरले भाडा वृद्धि गरेका छन् । उनीहरूले बाजुराको कोल्टीबाट नेपालगञ्जसम्म पाँच हजारदेखि सात हजारसम्म भाडा लिने गरेको पाइएको छ ।

जागिर र अन्य व्यवसायको सिलसिलामा हुम्ला, मुगु बाजुरामा बस्दै आएका शिक्षक, व्यापारी, कर्मचारीलगायतबाट खुलेआम मोटो रकम असुल गर्ने गरेका भए पनि सम्बन्धित निकाय भने मौन रहेको सर्वसाधारणको गुनासो छ ।

कोल्टी विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतमा चल्ने गोमा, काष्ठमाण्डप, मकालु, सीता, सिम्रिक नेपाल एयर लाइन्सका ट्वीनेटर विमान नियमित उडान हुने गरेका छन् ।

हप्तामा कम्तीमा एक सहुलियत उडान दिनुपर्ने हुन्छ । तर बाजुरामा यो सेवा यी एयरलाइन्सले दिइरहेका छैनन् । कम्पनीले खुलेआम ठगी गर्ने गरेको पत्रकार अनिल शाहीले बताउनुभयो ।

नगरपालिका र स्थानीय प्रशासनको मौनता र बेवास्ताकै कारण मनोमानी बढेको सेवाग्राहीको आरोप रहेको छ । आफू अनुकूल उडान भर्ने र मनोमानी भाडा असुल्ने कार्य भइरहँदा नागरिक उड्डयन कार्यालय कोल्टी पनि मौन छ ।

महँगो भाडाका कारण मारमा परेको सर्वसाधारण उडान अनियमित हुँदा थप सास्ती भोग्न बाध्य छन् । चार्टर गर्नुपर्ने र नेपालगञ्जबाट खाली आउनु पर्ने बहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेका छन् ।

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्