खोटाङबाट प्रतिनिधिसभामा भट्टराईको नाम सिफारिस, अरु को–को छन् ? (सूचिसहित)


 


हरिबोल आचार्य
खोटाङ, असोज २०
आसन्न मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमाले खोटाङले प्रतिनिधिसभाका लागि सांसद विशाल भट्टराईको नाम सिफारिस गरेको छ । । नेकपा एमाले वैकल्पिक केन्द्रीय  सदस्य तथा खोटाङ इन्चार्ज समेत रहेका भट्टराईलाई जिल्ला कमिटी खोटाङले सिफारिस गरेको हो ।

सांसद भट्टराई तत्कालीन राजाको शासनकालमा नौं पटक जेल परेका थिए भने, माओवादी द्धन्द्धको समयमा ४६ दिन अपहरणमा परेका थिए । २०७० सालको निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद भट्टराई काँग्रेसका उम्मेदवार विष्णुकुमार राई भन्दा पाँच हजार बढी मत ल्याएर विजयी भएका हुन् ।

दुई कार्यकाल एमाले खोटाङको जिल्ला अध्यक्ष भइसकेका भट्टराई जिल्लामा साझा र लोकप्रिय नेता मानिन्छन् । उनी खोटाङका प्रभावशाली नेता समेत हुन् ।

एमाले जिल्ला कमिटिको दुई दिनसम्म चलेको बैठकले भट्टराईसँगै केन्द्रीय सदस्य खगेन्द्र राई र वैकल्पिक केन्द्रीय सदस्य राजन राईको नाम पनि सिफारिस गरेको जिल्ला सचिव देवविक्रम राईले जानकारी दिए । “जिल्ला कमिटिले प्रदेश कमिटिलाई नाम सिफारिस गरेको छ ।” उनले भने, “प्रदेश कमिटिले केन्द्रीय स्थायी कमिटीलाई सिफारिस गरेपछि उम्मेदवारको टुङ्गो लाग्नेछ ।”

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ देवविक्रम राई, शुक्रबहादुर विश्वकर्मा, समर भुजेल र मनिषा राईको नाम सिफारिस गरेको छ ।

दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा बसेको बैठकले प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ का लागि सांसद पाँचकर्ण राई (पिके), युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, नेताहरु हरि पोखरेल, कुमारप्रसाद आचार्य, वीरबलकाजी राइ र सनमान खड्काको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ कर्ण घले, देवन राई, भीम राई, निर्मला आचार्य, उपिनकुमार राई, अकिलकुमार राई र रमिला गुरुङको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

प्रदेशसभा २ का लागि उषाकला राई, रामप्रसाद दंगाल र जलशेर राईको नाम सिफारिस भएको छ भने, समानुपातिकतर्फ देविप्रसाद रेग्मी, जेनी राई, प्रभातविक्रम कटवाल, दिलकुमारी राई, सुशिला ढकाल र पूर्णकला तामाङको सिफारिस गरिएको जिल्ला उपसचिव कुमारप्रसाद आचार्यले बताए ।

निर्वाचनमा टिकट दाबी गर्नेको संख्या बढी भएपनि पाउने उम्मेदवारलाई सहयोग गरेर जाने लिखित निर्णय वैठकमा भएको उपसचिव आचार्यले बताए ।

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्