प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : समानुपातिकमा कुन समुदायबाट कति प्रतिशत ?


 


काठमाडौं,असोज २२

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वैदेशिक सहायता नलिने भएको छ । विगतका निर्वाचनमा आयोगले विभिन्न दातृनिकाय, आइएनजिओ तथा छिमेकी मुलुकबाट सहायता सामग्री लिँदै आएको थियो ।

आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले सरकारले पर्याप्त बजेट उपलब्ध गराउने भएकाले यसपटक वैदेशिक सहायता नलिने निर्णय भएको जानकारी दिए ।

आयोगले हालै सम्पन्न स्थानीय तह निर्वाचनदेखि बिस्तारै वैदेशिक सहायता लिने क्रम घटाएको हो । आयोगले विगतमा भारतबाट गाडी, स्कुटी, चीनबाट छेकाबार, डटपेन, पन्चिङ मेसिन, मसीलगायतका निर्वाचन सामग्री सहायता लिने गरेको थियो ।

यसपटक आयोगले आवश्यक ती सबै सामग्री आफैँले खरिद गर्नेछ ।

मतदाता र मतदान केन्द्र थपिने

आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान केन्द्रको संख्या थपिने जनाएको छ । स्थानीय तहको निर्वाचनमा करिब १८ हजार मतदान केन्द्र थिए । त्यसमा १५ सयदेखि दुई हजार मतदान केन्द्र थप हुने प्रवक्ता ढकालको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा एक करोड ४१ लाख मतदाता थिए । त्यसमा करिब १४ लाख मतदाता थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब एक करोड ५५ लाख मतदाता हुनेछन् ।

समानुपातिकको ढाँचा तयार

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतपत्रको ढाँचा टुंगो लगाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक मतपत्र एउटै प्रयोग गरिनेछ ।

समानुपातिक निर्वाचनको मतपत्रको ढाँचाअनुसार प्रतिनिधिसभाका लागि देशैभरि एकै प्रकृति र प्रदेश सभाका लागि प्रदेशअनुसार दलको सहभागिताका आधारमा मतपत्र फरक हुने आयोगले जनाएको छ ।

एउटै पानामा बायाँतर्फ प्रतिनिधिसभामा भाग लिने दलको निर्वाचन चिह्न र दायाँतर्फ प्रदेश सभामा भाग लिने दलका निर्वाचन चिह्न हुनेछन् । आयोगका अनुसार प्रत्यक्ष निर्वाचनका लागि उपयोग गरिने मतपत्रको ढाँचा भने प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनपछि टुंगो लाग्नेछ ।

समानुपातिक निर्वाचनका लागि प्रयोग गरिने मतपत्र भने दसैँअघि नै छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक र प्रत्यक्षका मतपत्र छाप्दा समय बढी लाग्ने भएकाले समानुपातिकतर्फको मतपत्र दसैँअघि नै छपाइ सुरु भएको हो ।

निर्वाचन प्रभावित गर्ने गतिविधि नगर्नुस् : आयोग

निर्वाचन आयोगले दलीय गठबन्धनले मंसिरमा हुने निर्वाचनमा कुनै असर नपार्ने जनाएको छ । दलीय गठबन्धनका कारण निर्वाचन सर्ने हल्ला चलेपछि आयोगले यस्तो स्पष्टीकरण दिएको हो । साथै, आयोगले निर्वाचन प्रभावित हुने गतिविधि र क्रियाकलाप सञ्चालन नगर्न पनि राजनीतिक दल, सरकार र सरोकारवालालाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले १० र २१ मंसिरमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको सुरुवात र मतपत्र छाप्ने काम भइरहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी

प्रदेश निर्वाचन क्षेत्र : ३३०

प्रतिनिधिसभा निर्वाचन क्षेत्र : १६५

प्रदेश सभामा समानुपातिक सदस्य : २२०

प्रतिनिधिसभामा समानुपातिक सदस्य : ११०

प्रदेश सभामा प्रत्यक्ष सदस्य : ३३०

प्रतिनिधिसभामा प्रत्यक्ष सदस्य : १६५

जम्मा निर्वाचित प्रतिनिधि : ८२५

मतदाता : करिब एक करोड ५५ लाख

मतदान केन्द्र : करिब २० हजार

मतपत्र : करिब तीन करोड ४० लाख (प्रत्यक्ष र समानुपातिक)

खर्च : १० अर्ब रुपैयाँ

मतपत्र ढुवानीका लागि समय : करिब २० दिन

मतपत्र छाप्ने समय : करिब एक महिना

मतपत्रको प्रकार : दुई

दलित : १३.८

आदिवासी जनजाति : २८.७

खस–आर्य : ३१.२

मधेसी : १५.३

थारू : ६.६

मुस्लिम : ४.४

महिला : ५.०

पिछडिएको क्षेत्र : ४.३

कुन प्रदेशमा कति दल प्रतिस्पर्धी ?

प्रदेश नम्बर १ : ८७

प्रदेश नम्बर २ : ८६

प्रदेश नम्बर ३ : ८६

प्रदेश नम्बर ४ : ८२

प्रदेश नम्बर ५ : ८४

प्रदेश नम्बर ६ : ८२

प्रदेश नम्बर ७ : ८३

प्रकाशित मिति: २२ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्