धनगढी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने


 


काठमाडौँ, असोज २२
धनगढी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्कारण आगामी माघमा हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ ५ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष सुवासबहादुर शाहीले जानकारी दिए ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजन विजय डिस्टिलरीको रुस्लानले गरेको छ । एक वर्षका लागि करिब ७० लाख बराबरको प्रायोजन गर्ने सम्झौतापत्रमा अध्यक्ष शाही र जाउलाखेल ग्रुप इन्डस्ट्रीजका निर्देशक श्रीहरशम्शेर जंगबहादुर राणाले हस्ताक्षर गरे ।

मुख्य प्रायोजनबापत रुस्लानले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ३५ लाख नगद प्रदान गरेको छ भने ३५ लाख बराबरको विभिन्न सहयोग गर्ने कार्यक्रममा जानकारी दिइयो ।

प्रतियोगितामा टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, काठमाडौँ गोल्डेन्स, विराटनगर किंग्सलगायत आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले २५ लाख र उपविजेताले १० लाखका साथै ट्रफी प्राप्त गर्नेछन् । तेस्रो हुनेले तीन लाख र चौथोले दुई लाख पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले टीभीएस अपाची १८० सीसीको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा उत्कृष्ट ब्याटस्म्यान र बलरलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको खेल धनगढीस्थित अञ्चल प्रहरी मैदानमा सञ्चालन हुनेछ । वैकल्पिक रुपमा फाप्ला क्रिकेट मैदानलाई तयार गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्