को हुन् र कहाँ छन् निर्माण व्यवसायी शरदकुमार गौचनका हत्यारा ?


 


काठमाडौँ, असोज २४
गोली प्रहारबाट सोमबार मृत्यु भएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नको अझै पहिचान खुल्न सकेको छैन ।

घटनापछि प्रहरीले एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि अझै हत्याराको पहिचान गर्न नसकेको हो ।

सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ, नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा एक व्यक्तिले चलाएको गोलीबाट घाइते हुनुभएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले अनुसन्धान जारी रहेको र घटनाको नजिक प्रहरी पुगेको बताए । उनले भने, “शंकास्पद स्थान र व्यक्तिमाथि निगरानी गरीरहेका छौँ, केही दिनमै घटनामा संलग्न पक्राउ पर्छन् ।”

घटनालगत्तै सोमबार दिउँसो हतियारसहित काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप तामाङलाई गोँगबु क्षेत्रबाट प्रहरीले अपराह्न पक्राउ गरेको थियो ।

तर उनीहरुको गौचन हत्यामा संलग्नताबारे निकटता नखुलेको प्रमुख आयुक्त चन्दले जानकारी दिए । उनले अनुसन्धानका क्रममा दर्जनौँ व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडिएको जानकारी दिए ।

प्रहरीले घटनाको सम्बन्धमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्