वाम गठबन्धनले काठमाडौंका १० वटै निर्वाचन क्षेत्र कब्जा गर्ला ? ( स्थानीय तहको मत विश्लेषण सहित)


 


देशकोन्युज टिम
काठमाडौं, असोज २५
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि एमाले, माओवादी र नयाँ शक्तिबीच बाम गठबन्धनको घोषणा भएपछि देशभरको चुनावी माहोल उनीहरुकै पक्षमा देखिएको छ ।

बाम गठबन्धनका विरुद्ध कांग्रेस लोकतान्त्रिक गठबन्धन बनाउन खोजेपनि त्यो सम्भावना न्यून छ । मधेसी दल र राप्रपासँग कांग्रेसको गठबन्धन निकै टाढाको कुरा भएको छ ।

प्रायः बामपन्धी साना दलहरु एमाले र माओवादीमा बिलय तथा ठूला दलको चुनाव चिन्ह लिएर मैदानमा उक्रिने भएका छन् ।

देशभरको माहोलसँगै काठमाडौंको चुनावमा पनि कुन पार्टीले जित हासिल गर्लान् भन्ने आँकलन हुन थालेको छ । पार्टी र व्यक्तिका आँकलन फरक–फरक होलान्, तर हामीले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई मुख्य आधार बनाएर विश्लेषण गर्दा १० वटै तहमा बाम गठबन्धनको बर्चश्व देखिएको छ ।

२०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचन तथा २०६४ को नतिजामा कांग्रेस काठमाडौंमा पहिलो दल भएपनि यो चुनावमा एक क्षेत्रमा जित्न पनि उसलाई हम्य पर्नेछ । कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र युवा नेता गगनकुमार थापा समेत चुनाव जित्नेमा ढुक्क हुन सक्ने अवस्था देखिँदैन ।

२० वर्षपछि भएको स्थानीय तह निर्वाचनमा काठमाडौंका ११ मध्ये काठमाडौं महानगरपालिकासहित ७ तह एमालेले जितेको थियो भने कांग्रेसले ४ तह मात्रै जित्यो ।

काठमाडौंमा प्रदेशसभा र प्रतिनिधिसभाका ६ लाख ३ हजार ६२० मतदाता छन् काठमाडौंको १० क्षेत्र अन्तर्गत पर्ने महानगर तथा नगरपालिकाका वडा अध्यक्षले प्राप्त गरेको मतलाई सो पार्टीले प्राप्त गरेको मतका रुपमा हेर्दा सबै क्षेत्रमा नै एमाले, माओवादी र नयाँ शक्तिको गठबन्धन अगाडि देखिएको छ ।

कांग्रेसले पनि राप्रपासहित केही दलसँग तालमेलको तयरी गरिरहँदा २/३ क्षेत्रमा पनि बाम गठबन्धनसँग कांग्रेसले प्रतिस्पर्धा गर्ने देखिन्छ ।

काठमाडौं क्षेत्र नं १ : दुई पक्षबीच प्रतिस्पर्धा

एमाले–माओवादीको मत : १०,९९१
कांग्रेस–राप्रपा मत : १०,३८२

काठमाडौं क्षेत्र नं १ मा काठमाडौं महानगरपालिकाका वडा नं १०, ११, २९ र ३१ पर्दछन् । यी वडा भनेको साविकको १०, ११, ३२ र ३४ नम्बर वडा हुन् ।

क्षेत्र नं १ मा २०६४ र ०७० को चुनावमा यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारी मत अन्तरले विजयी भएका थिए । तर, १० वर्ष र ४ वर्ष अघिको निर्वाचन नतिजाभन्दा हालै सम्पन्न स्थानीय तहको नतिजालाई हेर्दा गठबन्धनको मत बढी छ ।

यो क्षेत्रमा सबैभन्दा बढी बाम गठबन्धनको पक्षमा १०,९९१ मत छ भने कांग्रेस राप्रपासँग १०,३८२ मत छ ।  कांग्रेस उमेदवार सिंह प्रभावसाली नेता भएका कारण पनि बाम गठबन्धनलाई यो क्षेत्र आफ्नो पक्षमा पार्न सहज भने छैन ।

यता विवेकशिल साझा पार्टीको तर्फबाट पूर्व पत्रकार रविन्द्र मिश्र उठ्दा उनले कांग्रेसकै भोट काट्ने देखिन्छ । त्यसले पनि बाम गठबन्धनलाई नै सहज बनाउने छ ।

क्षेत्र नं २ एमाले एक्लै बलियो

एमाले–माओवादीको मत : २४,९३०
कांग्रेस–राप्रपा मत : २०, ४७८

क्षेत्र नम्बर २ काठमाडौं महानगरको वडा नं ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८,९ तथा शंखरापुरा नगरपालिका समेटिएर बनेको छ ।

यो क्षेत्रबाट एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उठ्ने भएका छन् । एमाले एक्लै पनि बलियो भएको यो क्षेत्रमा गठबन्धन गर्दा उनको जित निश्चित छ ।

यो क्षेत्रमा स्थानीय निर्वाचनमा एमाले १९ हजार १९६ मतका साथ पहिलो, कांग्रेस १५ हजार ६२७, माओवादीले ५ हजार ७३४ र राप्रपाले ४ हजार ८५१ मत प्राप्त गरेको छ । जसले गर्दा एक्लै बलियो देखिएको एमालेलाई माओवादी गठबन्धन र नेता नेपालको व्यक्तिगत प्रभावको भोट प्राप्त हुन्छ ।

क्षेत्र नं ३ :गठबन्धन नै अगाडि

एमाले–माओवादीको मत : १७,१५८
कांग्रेस–राप्रपा मत : १५,८२५
काठमाडौं क्षेत्र नं ३ मा २०६४ को चुनावमा कांग्रेस र ०७० चुनावमा एमाले विजयी भएको थियो । स्थानीय निर्वाचनको एकल मतमा कांग्रेस अगाडि देखिएपनि गठबन्धन गर्दा एमाले–माओवादी नै बलियो देखिन्छन् ।

यो क्षेत्रमा गठबन्धनको पक्षमा १७ हजार १५८ मत छ भने कांग्रेस–राप्रपाको पक्षमा १५ हजार ८२५ मत छ । यहाँ दुई पक्षबीच प्रतिस्पर्धा भने हुने देखिन्छ ।

क्षेत्र नं ४ : गगन थापालाई फलामको चिउरा
एमाले–माओवादीको मत : २१,१४८
कांग्रेस–राप्रपा मत : १५,३४५

काठमाडौं क्षेत्र नं ४ अन्तर्गत महानगरका वडा नं १, ७, ८ र ३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्दछन् ।  यो क्षेत्रमा ०७० को चुनावमा कांग्रेसका युवा नेता गगनकुमार थापा भारी मतअन्तरले विजयी भएका थिए ।

थापाले २२ हजार ३३६ मत ल्याउँदा एमालेका निर्मल कुइकेल ९ हजार १३५ र माओवादीका नन्दबहादुर पुन (उपराष्ट्रपति)ले ६ हजार ४६२ मत ल्याएका थिए ।

२०६४ को चुनावमा पनि कांग्रेसकी सुप्रभा घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पराजित गरेकी थिइन् ।
तर, स्थानीय तह निर्वाचनको नजिता हेर्दा यो क्षेत्रअन्तर्गत पर्ने वडाको नतिजाअनुसार कांग्रेसले महानगरको वडा नं ८ र ३० बाहेक अरु जित्न सकेन ।

यो क्षेत्रमा एमाले–माओवादी गठबन्धनको पक्षमा २१ हजार १४८ मत छ भने कांग्रेस–राप्रपाको पक्षमा १५ हजार ३४५ मत छ ।
स्थानीय तहको नतिजाले यो क्षेत्रमा बाम गठबन्धनलाई जितका सहज छ । तर, युवा नेता गगन थापा उठ्दा दुई पक्षबीच प्रतिस्पर्धा तिब्र हुन्छ ।

यो क्षेत्रबाट विवेकशील–साझा पार्टीले २६ वर्षकी सुबुना बस्नेतलाई अघि सारेका कारण स्वतन्त्र भोट उनले तान्न सक्छिन् ।

क्षेत्र नं ५ : एमाले महासचिव पोखरेलको जित सहज

एमाले–माओवादीको मत : २०,४७८
कांग्रेस–राप्रपा मत : १७,३६७

काठमाडौं क्षेत्र नं ५ अन्तर्गत महानगरका वडा नं. २, ३, ४, र ५ तथा बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६ र ७ पर्दछन् । यो क्षेत्रमा ०६४ र ०७० को चुनावमा कांग्रेसका नरहरी आचार्यसँग एमाले महासचिव ईश्वर पोखरेल पराजित भएका हुन् ।

स्थानीय तहको निर्वाचन गठबन्धन नै अगाडि छ । यो क्षेत्रमा एमाले–माओवादीको पक्षमा २० हजार ७४८ मत छ भने कांग्रेस–राप्रपासँग १७ हजार ३६७ मत छ ।

माओवादीसँग गठबन्धन गर्दा यो क्षेत्र पोखरेलको जित अझ सहज छ । यता विवेशसील साझा पार्टीका संयोजक उज्ज्वल कुमार थापाले पनि यही क्षेत्रबाट उमेदवारी घोषण गरेका छन् ।

क्षेत्र नं ६ : गठबन्धन नै अगाडि

एमाले–माओवादीको मत : १८,२५१
कांग्रेस–राप्रपा मत : १४,१२५
काठमाडौं क्षेत्र नं ६ अन्तर्गत महानगरको वडा नं २६, २७, २८ पर्दछ भने तारकेश्वर नरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ तथा टोखा नरपालिकाको वडा नं १, ८, ९, १० र ११ पर्दछन् ।

यो क्षेत्रमा २०६४ को निर्वाचनमा माओवादीका हितमान शाक्य र २०७० को निर्वाचमा कांग्रेसका भिमसेनदास प्रधान विजयी भएका हुन् ।
स्थानीय तह नतिजामा हेर्दा यो क्षेत्रमा पनि एमाले नै बलियो देखिएको छ ।

यो क्षेत्रमा एमालेले १४ हजार ०६१ मत पाउँदा कांग्रेसको मत १२ हजार ७४२ मात्र छ । अझ माओवादी–एमालेको गठबन्धन भएका कारणले उसको मत पति जोडिन आउँछ ।

माओवादीले ४ हजार १६४ मत ल्याउँदा यहाँ राप्रपाले १ हजार ३८३ मत प्राप्त गरेको छ । राप्रपाको मतले कांग्रेसलाई केही राहत हुने भएपनि जितका लागि पर्याप्त हुँदैन ।

क्षेत्र नं ७ : गठबन्धनको बलियो पक्कड

एमाले–माओवादीको मत : १६,९४९
कांग्रेस–राप्रपा मत : १४,८९३

काठमाडौं क्षेत्र नं ७ अन्तर्गत काठमाडौं महानगरका वडा नं १६, १७, १८, २५ पर्दछन् भने नागरर्जुन नगरपालिकाका वडा नं १, २ र ३ तथा तारकेश्वर नगरपालिका वडा नं ३, ४ र ५ रहेका छन् ।

यो क्षेत्रमा पनि मतदाता कतिबद्ध देखिँदैनन् । हालै सम्पन्न स्थानीय चुनावको नतिजामा ंयो क्षेत्रमा एमालेकै मत बढी छ । यो क्षेत्रमा एमालेले १३ हजार ४७५ मत छ भने कांग्रेसको १२ हजार ६४ छ तथा माओवादीको ३ हजार ४७४ तथा राप्रपाको २ हजार १४८ मत रहेको छ ।

काठमाडौं क्षेत्र नं ८ : जोशीलाई गठबन्धन चुनौती

एमाले–माओवादीको मत : १६,४०९
कांग्रेस–राप्रपा मत : १३,२२८

काठमाडौं क्षेत्र नं ८ अन्तर्गत काठमाडौं महानगरका वडा नं १३, १५, १९, २०, २३, २४ तथा ना नागार्जुन नगरपालिकाको वडा नं ४ र ५ पर्दछ ।
यो क्षेत्र २०६४ तथा २०७० को चुनावमा पनि कांग्रेस उमेदवार नविन्द्रराज जोशी विजयी भएका थिए ।

तर, स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पनि एमालेले कांग्रेसलाई करिब ३५ सय भोटले उछिनेको छ । यो क्षेत्रमा एमालेले १३ हजार ५८१ मत ल्याउँदा कांग्रेसले १० हजार ७२ मत ल्याएको छ ।

यो क्षेत्रमा राप्रपाले ३ हजार १५६ मत प्राप्त गर्दा माओवादीको २ हजार ८२८ मत मात्रै छ । यद्यपी दुई पटक विजयी जोशीलाई गठबन्धन चुनौती नै बन्ने देखिन्छ ।

क्षेत्र नं ९ : एमाले उपाध्यक्ष शाक्यलाई सहज
एमाले–माओवादीको मत : २२,९६३
कांग्रेस–राप्रपा मत : १८,४८८

काठमाडौं क्षेत्र नं ९ मा महानगरका वडा नं १२, १४, २१ र २२ पर्दछन् भने चन्द्रागिरीका वडा नं १, १२, १३, १४ र १५ तथा नागर्जुन नगरपालिकाका वडा नं ६, ७, ८, ९ र १० रहेका छन् ।

यो २०६४ र २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा कांग्रेसका ध्यान गोविन्द रंजित विजयी क्षेत्र हो । यो क्षेत्रमा स्थानीय तहको नतिजाका आधारमा एमाले नै बलियो देखिएको छ ।

एमालेको १९ हजार ५४१ मत छ भने कांग्रेसको १६ हजार ४७० मत छ । एमालेसँग तालमेल गरेको माओवादीको ३ हजार ४२२ तथा कांग्रेससँग तालमेल गरेको राप्रपाको २ हजार १८ मत रहेको छ । तालमेलले यो क्षेत्रमा बाम गठबन्धनलाई नै सजिलो हुने देखिन्छ ।

क्षेत्र नं १० : प्रचण्ड हारेको क्षेत्रमा गठबन्धन धेरै अगाडि
एमाले–माओवादीको मत : २५,८८९
कांग्रेस–राप्रपा मत : १७,६२३

काठमाडौंको अन्तिम क्षेत्रमा चन्द्रागिरी नगरपालिकाका वडा नं २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ तथा दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिका पर्दछन् ।

यो क्षेत्रबाट २०६४ को चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र २०७० को चुनावमा कांग्रेसका राजेन्द्र केसी विजयी भएका थिए ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यो क्षेत्रमा कांग्रेस र एमालेबीच मत टक्कर देखिन्छ ।

तर, एमाले र माओवादीको गठबन्धन बन्दा उनीहरु बलिया छन् । स्थानीय चुनावमा यो क्षेत्रबाट कांग्रेसले १६ हजार ४८७ मत ल्याउँदा एमालेले १६ हजार ७३१ मत प्राप्त गर्यो।

यता माओवादी केन्द्रले पनि ९ हजार १६८ मत ल्याएको छ । तर, कांग्रेससँग तालमेल गरेको राप्रपाको १ हजार १३६ मत मात्र छ । यसले गर्दा काठमाडौंका सबै क्षेत्रमा बाम गठबन्धन जित नजिक भएको आँकलन गर्न सकिन्छ ।

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्