रुद्राक्षको स्वरुप विगारेर यसरी गर्देछन् चिनियाँ व्यापारीले नेपालमा अवैध धन्दा


 


काठमाडौं, असोज २६
कानुन अभावको फाइदा उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन् । उनीहरूले बगान खरिद गरी आकर्षक बनाउन चिचिला अवस्थामै मेसिनद्वारा प्राकृतिक स्वरूप बिगारेका छन् ।

जैविक विविधता महासन्धिअनुसार सरकारको अनुमतिमा मात्र प्राकृतिक बोटबिरुवा र फलको स्वरूप बिगार्न पाइने भए पनि चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न स्थानमा रुद्राक्षको अवैध ढंगले स्वरूप परिवर्तन गरिरहेका छन् ।

चेप्टो, गोलो, अन्डाकार र थेप्चो आकारमा उत्पादन हुने दानालाई चिनियाँ व्यापारीले मेसिनको सहायतामा चिचिलादेखि नै अप्राकृतिक रूप दिएका छन् । यसले आफ्नो उत्पादनको व्यापारमा गिरावट आएको कृषकहरूले बताएका छन् ।

चिनियाँहरूले संखुवासभा र भोजपुरका अधिकांश किसानका रुद्राक्ष बगान खरिद गरेर मेसिनको प्रयोगबाट रुद्राक्षको आकार अप्राकृतिक बनाइहेका छन् । वन तथा भू–संरक्षण मन्त्रालयका वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालले रुद्राक्षको दानाको स्वरूप बिगार्न पाइने या नपाइने विषयमा कानुन अस्पष्ट रहेकोले स्वरूप बिगार्नुअघि सरकारको अनिवार्य अनुमति लिनुपर्ने बताए ।

महिनौंदेखि उनीहरूले अनुमतिबिनै रुद्राक्षलाई अप्राकृतिक बनाउन थालेपछि स्थानीय प्रशासनले बल्ल चासो देखाएको छ । स्थानीय रुद्राक्ष व्यवसायी र कृषकहरूले उजुरी दिए पनि कानुन अभावमा कारवाही अघि बढाउन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।

अवैध ढंगले रुद्राक्षको स्वरूप बिगार्न थालेपछि चिनियाँ व्यापारीलाई गाउँमा प्रवेश गर्नुअघि स्थानीय सरकारसँग अनुमति लिन भोजपुरका षडानन्द नगरपालिका र खाँदबारी नगरपालिकाका प्रमुखले सूचना नै जारी गरेका छन् ।

गत वर्ष पनि चिनियाँहरूले नेपालमा उत्पादन गरिएका दानाको बीचमा बाँधेर डमरु आकारको अप्राकृतिक रुद्राक्ष बनाएकाले भारत र चीनकै बजारमा बिक्री नभएको व्यवसायीहरूको भनाइ छ ।

प्रतिकूल मौसम र जलवायु परिवर्तनको असरले यस वर्ष रुद्राक्ष उत्पादनमा समेत कमी आएको छ । दाना छिमले भएकाले पनि बोटमै कुहिने, सुक्नेजस्ता समस्या भएकाले उत्पादनमा गिरावट आएको कृषक कुविर भारतीले बताए ।

जिल्ला समन्वय समितिका अध्यक्ष सुमन शाक्यले चिनियाँलाई सचेत गराउने र बनाएकालाई छुट दिएर आगामी वर्षदेखि अप्राकृतिक बनाउन पूर्ण रोक लगाउने बताए । अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली रुद्राक्षको गुणस्तर र छवि बिग्रिएको रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सुरेश चापागाईंले बताए ।

रुद्राक्षको प्राकृतिक आकार र रूप जोगाउन व्यापारिक भिसामा आएका चिनियाँ व्यापारीलाई मात्र खरिद–बिक्री गर्न दिने पाँचखपन नगरपालिकाका प्रमुख विपीन राईले बताए । विगत केही वर्षयता चिनियाँ व्यापारी गाउँ–गाउँ पुगेर रुद्राक्ष खरिद गर्दै आएका छन् ।

अहिले रुद्राक्षको खेती धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथरमा समेत लगाउन थालिएको छ । यसलाई हिन्दु, बौद्ध परम्पराअनुसार भारत र चीनमा धार्मिक आस्था, सजावट र गहनाका रूपमा रुद्राक्ष खरिद–बिक्री हुने गरेको छ ।

रुद्राक्ष बिक्री वितरण गर्नेको लाइसेन्सलाई ३ तहमा वर्गीकरण गरिएको छ ‘क’ वर्गले देशभन्दा बाहिर किनबेच गर्न पाउने ‘ख’ वर्गले देशभर र ‘ग’ वर्गले स्थानीय बजारमा किनबेच गर्न पाउनेछन् ।

रुद्राक्षको बिक्री वितरण भाद्रदेखि मंसिरसम्म हुने गरेको छ । खरिदबिक्री गर्नेलाई लाइसेन्स तोकिए पनि बिचौलियाहरूले समेत गर्ने गरेका छन् । जिल्लामा वार्षिक १५ करोडभन्दा माथि कारोबार भइरहेको व्यापारी चक्र बिसङ्खेले बताए ।

पर्यटक भिसामा आएर बिचौलिया व्यापारीको सहयोगमार्फत जिल्लाका विभिन्न भूभागमा व्यापारी पुग्ने गरेको आजको कारोबार दैनिकमा खबर प्रकाशित छ ।

ग्रामीण क्षेत्रमा समेत व्यापक प्रवेश बढेपछि चिनियाँ व्यापारीलाई जिल्ला प्रहरी कार्यालयले सदरमुकामभन्दा बाहिर जान रोक लगाउन थालेको छ ।

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्