स्थानीय निर्वाचन नतिजाको संकेत : वाम गठबन्धनलाई स्पष्ट बहुमत


 


काठमाडौं, असोज २६
अहिले देशको राजनीति दुई ध्रुबमा बाँडिएको छ । एमाले,माओवादी र नयाँ शक्तिले बाम गठबन्धन बनाएर अगाडि बढिरहेका छन् भने कांग्रेस लोकतान्त्रिक गठबन्धन बनाउने प्रयासमा छ ।

आगामी निर्वाचन कसको पक्षमा पर्ला र कसले पाँच वर्षसम्म सरकारको नेतृत्व गर्दा भन्ने सर्बत्र चासो छ । आसन्न निर्वाचनको आकलन गर्न स्थानीय तहको नतिजा ताजा जनमत हो ।

स्थानीय तह निर्वाचन नतिजाका आधारमा बाम गठबन्धनमा संलग्न यी तीन दलको पक्षमा स्पष्ट बहुमत देखिएको छ ।
वैशाख ३१, असार १४ र असोज ३ गते भएको निर्वाचनमा प्रतिनिधिको नतिजाका आधारमा ५६ दशमलव ४७ प्रतिशत यी तीन दलको पक्षमा छ भने पपुलार मतका आधारमा ५० दशमलव ८९ प्रतिशत हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षमा ६० र समानुपातिकबाट ४० प्रतिशत छानिने भएकाले पनि यो गठबन्धनको पक्षमा मत बढ्ने सम्भावना छ ।

अझ नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दल पनि यो गठबन्धनको पक्षमा आउने तयारीमा छन् ।

जनप्रतिनिधिका आधारमा कसको अवस्था के ?

तीन चरणमा गरी देशभरका ७५३ स्थानीय तहमा ३५ हजार ०४१ प्रतिनिधि निर्वाचित भइसकेका छन् । सबैभन्दा धेरै एमालेका १४ हजार ९८ प्रतिनिधि निर्वाचित भएका छन् ।

यो प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको कुल आँकडा हो ।

दोस्रोमा नेपाली कांग्रेसका उमेदवार ११ हजार ४५७ उमेदवार विजयी भएका छन् भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका ५ हजार ४४१ उमेदवारले जित हासिल गरे ।

जसमा प्रतिशतका आधारमा एमालेले ४०.२३ प्रतिशत, कांग्रेसले ३२.६९ प्रतिशत र माओवादीले १५.५३ प्रतिशत उमेदवार विजयी बनाउन सक्यो ।

पपुलार भोटमा पनि गठबन्धन बहुमतमा

स्थानीय तहको निर्वाचनमा भोट गरिने सबै पदको प्राप्त मतको औसतका आधारमा निकालिएको पपुलर भोटमा एमालेले ३० लाख ६५ हजार ५४० मत पाउँदा कांग्रेसले २९ लाख ८२ हजार २४० मत प्राप्त गरेको छ ।

कुल खसेको मतमा ९१ लाख २६ हजार ७०४ मत सदर हुँदा एमालेले ३३.५९ प्रतिशत भोट प्राप्त गरेको छ भने कांग्रेसले ३२.६८ प्रतिशत मत प्राप्त गरेको छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेको माओवादीले १६ लाख २ हजार ४५० हजार मत प्राप्त गरेको छ । जुन प्रतिशतमा १७.५८ हुन आउँछ भने बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको पक्षमा ७१ हजार १७५ मत प्राप्त गरेको छ ।

जसले गर्दा गठबन्धनको पक्षमा ५० दशमलव ८९ मत देखिन्छ । निर्वाचन गठबन्धन सँगै पार्टी एकीकरणको घोषणा गरेका यी पार्टीले एकल सरकार बनाउने सम्भावना पनि प्रबल देखिएको छ ।

कांग्रेसले मधेस केन्द्रीत तथा राप्रपा लगायतका दलसँग तालमेल गर्दासमेत गठबन्धलाई पराजित गर्न मुस्किल छ ।

अन्य दलको यस्तो छ अवस्था

चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ३ लाख ८६ हजार ७८३ मत अर्थात ४.२४ प्रतिशत प्राप्त गरेको छ । २८५ मात्रै प्रतिनिधि निर्वा्चित भएको राप्रपा पपुलर भोटको औसतमा २ लाख ९० हजार १५६ मत प्राप्त गरेको छ ।

यता तेस्रो चरणको निर्वाचनमा मात्रै सहभागी भएको राष्ट्रिय जनता पार्टीले १ हजार ११२ प्रतिनिधि विजयी गराउँदा पपुलर भोट भने औसतमा २ लाख ५१ हजार ६१५ मत प्राप्त गरेको छ ।

त्यसपछि विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले १ लाख २४ हजार ६५४ मत प्राप्त गरेको छ । यस्तै स्वतन्त्र उमेदवारले औसतमा १ लाख १९ हजार ७२९ मत प्राप्त गरेका छन् ।

यसैगरी चुनावमा सहभागी ३६ दलले ३ लाख ३ हजार ५३७ अर्थात ३.३२ प्रतिशत औसत मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्