खाडी मुलुक जान बाध्य छन् रोल्पाली महिला


 


रोल्पा, असोज २६
घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागि रोल्पाका महिलासमेत विदेश जान थालेका छन् । घरको चुलोचौकामा सीमित उनीहरु जीविकोपार्जनका अन्य विकल्प नभएपछि रोजगारीका लागि खाडी जान बाध्य भएका हुन् ।

विगतमा जिल्लाबाट पुरुष मात्रै वैदेशिक रोजगारीमा जाने गरेकामा पछिल्ला दिनमा भने महिलासमेत विदेश जान थालेका छन् ।

श्रीमान् रोजगारीका लागि विदेशमै भएका, श्रीमान्सँग सम्बन्ध विच्छेद गरेका, घरेलु हिंसाबाट पीडित तथा घरमा पुरुष नभएका महिला रोजगारीका लागि विदेश जाने गरेको बताइएको छ । घरको आर्थिक अवस्था कमजोर भएका तथा रोजगारीको कुनै विकल्प नभएका महिला विदेश जाने गरेका छन् ।

गत वर्ष वैदेशिक रोजगारीमा जानका लागि जिल्लाबाट चार हजार २३६ जनाले राहदानी लिएकामा १७६ जना महिला विदेश गएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ ।

यसरी रोजगारीमां जाने मध्ये अधिकांश महिलाले घरेलु कामदारका रुपमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने, बगैँचाको रेखदेख गर्ने जस्ता घर भित्रको काम गर्दै आएका छन् ।

आकर्षक तलबको अभाव, जोखिमपूर्ण काम तथा सुरक्षाको ग्यारेन्टी नहुँदा वर्षेनी दर्जनौं कामदारको मृत्यु हुने भएका कारण वैदेशिक रोजगारीमा जाने पुरुषको सङ्ख्या घट्दै गएको भए पनि महिलाको भने आकर्षण बढी रहेको बताइन्छ ।
रासस

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्