विश्व क्रिकेट लिगमा शरद भेषवाकर नखेल्ने


 


काठमाडौँ, असोज २६
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले गुमाउने भएका छन् ।

हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा शुक्रबार र आइतबार हुने खेलमा ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली क्रिकेट टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार शरदका स्थानमा नेपाली सेनाका खेलाडी नरेश बुढाऐरलाई बोलाइएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार हङकङको सामना गर्नेछ । नेपालको वरिष्ठ टोलीले करिब एघार वर्षपछि हङकङमा क्रिकेट खेल्न लागेको हो । यसअघि नेपालले सन् २००४ र २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा हङकङमा गएर खेलेको थियो ।

अङ्क तालिकामा नेपाल छैटौँ र हङकङ पाँचौँ स्थानमा छन् । जारी प्रतियोगितामा नेपालले हङकङलाई दुवै खेलमा पराजित गरेमा नेपाल शीर्ष चारभित्र पर्ने सम्भावनालाई बलियो बनाउनेछ । प्रतियोगितामा नेपालको आठ तथा हङकङको ११ अङ्क छन् ।

प्रहरी दिवस रनिङ कपको उपाधि १ नं प्रदेशलाई

बैसठ्ठीऔँ प्रहरी दिवस २०७४ का अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले ३ नं प्रदेश कार्यालय हेटौडालाई पराजित गर्दै उपाधि जितेको छ ।

विजेतालाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले रनिङ्ग कपका साथै विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, अधिकृत, टोली व्यवस्थापक र प्रशिक्षकलाई पदक तथा प्रमाणपत्र एवं नगद पुरस्कार प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरीमा आबद्ध खेलाडीको योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक छविलाल जोशीले खेलकुदसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यही असोज २२ गतेदेखि सञ्चालित उक्त प्रतियोगितामा प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातै प्रदेश प्रहरी कार्यालयका गरी १० टोलीको सहभागिता थियो ।

लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा लिग चरणका १२ खेल, सेमिफाइनलमा दुई खेल र फाइनल गरी १५ खेल भएको थियो ।

कात्तिक १३ गतेदेखि राइनो संरक्षण गोल्डकप

आगामी कात्तिक १३ गतेदेखि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७४ हुने भएको छ । नन्दभाउजू उपभोक्ता समितिले पत्रकार सम्मेलन गर्दै खेलकुदको माध्यमबाट युवामा वन्यजन्तु एवं वातावरण संरक्षण चेतनाको विकास र विस्तार गर्ने, प्रतिभावान् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने, खेलकुद तथा पर्यटनको संरक्षण गरी आन्तरिक बाह्यपर्यटक आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य १४ टोलीको सहभागिता रहनेछ । विजेताले रु पाँच लाख २५ हजार ५५५, दोस्रो हुनेले रु २५ हजार ५५५, प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु दुई हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीलाई रु १० हजार र सर्वाधिक गोलकर्ताले रु १० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्