एनआरएन अध्यक्षमा घले र भट्टको उम्मेदवारी घोषणा


 


काठमाडौँ, असोज २६

गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेका हुन् ।

गुरुङले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारदेखि शुरु हुन लागेको संघको महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहेकी गुरुङले उम्मेदवारी घोषणा गरेकी हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले ‘नेपालीका लागि नेपाली’ भन्ने पवित्र उद्देश्यका साथ शुरु भएको संघमा आफूले गैरआवासीय नेपालीको माग र अपेक्षालाई पूरा गर्ने र महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरिन ।

साथै, संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कूटनीतिकस्तरमा अझ पारदर्शीरुपमा विकास गर्न र संघले अहिले निर्माण गरिरहेका मेगा परियोजनालाई समयभित्र सम्पन्न गराउन भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरिन ।

संघका सदस्यसमेत रहेकी गुरुङले आफू अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको र महिलाले नेतृत्व गर्न सक्छन् भन्ने पुष्टि गर्नका लागि पनि आफ्नो उम्मेदवारी भएको स्पष्ट पारिन ।

यसैबीच, अध्यक्षका अर्का प्रतिस्पर्धी भवन भट्टले पनि यहाँ आज आयोजित उम्मेदवारी सभामा आफ्नो उम्मेदवारी घोषणा गरे ।

सो पदका लागि आफू योग्य रहेको दाबी गर्दै भट्टले एनआरएनको उपाध्यक्षको जिम्मेवारीमा रही आफूले सम्पूर्ण गैरआवासीय नेपालीको समस्या, पीर, मर्का बुझेको बताए ।

उनले आवासीय र गैरआवासीय नेपालीबीच सहकार्यका लागि समन्वयको वातावरण तयार गरी एनआरएनको ‘भिजन २०२०’ तथा सामूहिक लगानीका परियोजना कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा पूर्वाधार विकास तथा निर्माणमा लगानी बढाउने र रोजगारीको अवसर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रत्यासी भट्टले भने– “आफ्नो जितको पहिलो आधार नै सम्पूर्ण एनआरएनका साथीहरू हुन्, म त लगभग साझा उम्मेदवारका रुपमा उभिएको छु ।”

उनले आफूलाई एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने र हालका अध्यक्ष डा शेष घलेको पनि पूर्ण साथ र सहयोग रहेको जानकारी गराए ।

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीको मनमा सधँै नेपाल र नेपाली नै रहेको उनको भनाइ थियो । भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना बस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने पनि प्रतिबद्धता जनाए ।

यसअघि उनले एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष तथा केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन्  ।

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्