माओवादी मन्त्रीलाई जिम्वेवारीबाट हटाउने देउवाको तयारी


 


काठमाडौै, २९ असोज

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरुलाई पदबाट हटाउने संकेत गरेका छन् ।

राप्रपाबाट बिनाविभागीय चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका देउवाले तिनलाई मन्त्रालय दिएर माओवादी केन्द्रका मन्त्रीलाई हटाउने संकेत गरेका हुन् ।

संसदमा शनिबार अन्तिम सम्बोधन गर्दै देउवाले सांकेतिकरुपमा माओवादी मन्त्री हटाउने बताए ।

‘मन्त्रिपरिषद् ठूलो भयो भन्ने कुरा आयो, यति उति भन्ने नै छैन, कहाँ भनेको छ यति उति भन्ने ? संक्रमणकालपछि भनेको हो (संख्या तोकेर),’ माओवादी मन्त्रीलक्षित गर्दै उनले भने, ‘संख्या घट्न पनि सक्छ, दुई चार दिनपछि, पाँच दिनपछि थाहा पाउनुहोला नि !’

प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संविधानविपरीत ६४ सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै कडा आलोचना गरेपछि देउवाले यस्तो जवाफ दिएका थिए ।

देउवाले थपिएका मन्त्रीलाई शपथ नखुवाउने भयबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।

‘हिजो राजा कसैसँग उचालिन्थे, उनी उचालिंदै उचालिइन्, त्यसकारण पनि उहाँलाई धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्रीले भने, ‘अक्षरश: पालना गर्नुभएकोमा हाम्रो पार्टी र म धन्यवाद दिन चाहन्छु ।’

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि सरकार विस्तारले चुनाव प्रभावित नहुने भनाइ राखेको भन्दै यादवलाई धन्यवाद दिए ।

यता माओवादीले भने शनिबार नै सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने तथा आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको थियो ।

यसबारे माओवादी अध्यक्ष पुष्पकमल दाहलले शनिबारनै देउवालाई यसबारे जानकारी गराएका थिए । तर, देउवाले ‘२/४ दिनमा मन्त्री घट्न सक्छन्’ भन्ने अभिव्यक्ति दिएपछि सरकारमै बस्ने वा राजिनामा दिने भन्ने माओवादीलाई अफ्ट्यारो पर्ने देखिन्छ।

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्