रिजवानको पार्टीमा वाम लोकतान्त्रिक जनपक्षीय मञ्च र आधुनिक नेपाल पार्टी विलीन


 


२९ असोज,काठमाडौं ।
रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीमा नेकपा माओवादी केन्द्रका असन्तुष्ट नेताहरुले निर्माण गरेको वाम लोकतान्त्रिक जनपक्षीय मञ्च र आधुनिक नेपाल पार्टी समाहित भएका छन् ।
आइतबार मधेश मिडिया हाउसमा नेपाल संघीय समाजवादी पार्टीले आयोजना गरेको एकीकरण घोषणा कार्यक्रममा अध्यक्ष अन्सारीले मुलुकलाई निकास दिनका लागि आफूहरु तेस्रो धार निर्माणको अभियानमा अगाडि बढिरहेको बताए ।
उनले आगामी निर्वाचन र राज्यका सम्पूर्ण अंगहरुमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने उनले दाबी गरेका छन् । उनले आगामी निर्वाचनमा आफूहरु बस छाप लिएर सहभागिता जनाउने बताए । उनले मुलुकमा रहेका सबैखाले विभेद अन्त्य गर्नका लागि बस छापमा मतदान गर्न आग्रह गरेका छन् ।

जीतवीर लामा नेतृत्वको वाम लोकतान्त्रिक जनपक्षीय मञ्च र कृष्णगोपाल बन्जारा नेतृत्वको आधुनिक नेपाल पार्टीसहित राजपा नेपालका पूर्वसभासद् तथा असन्तुष्ट नेताहरु पनि अन्सारीको पार्टीमा समाहित भएका छन् ।
मञ्चका लामा, महासचिव योगेन्द्र घिसिङ, आधुनिक नेपाल पार्टीका कृष्णगोपाल बन्जाा, महासचिव अनिल भण्डारी, राजपा नेपालका पूर्वसभासद् सन्ध्या देव लगायत असन्तुष्टहरु नेपाल संघीय समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
‘उत्पीडित जनताहरुको संघर्ष र बलिदानले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघात्मक शासन व्यवस्थाको रक्षा गर्दै, स्वतन्त्रता, समानता, सामाजिक न्याय, सुशासन र समृद्धि तथा दिगो शान्तिको दिशातर्फ अगाडि बढ्ने’ संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्