माओवादीको दोस्रो तहका नेता मात्रै समानुपातिक सूचीमा


 


काठमाडौं, असोज ३०

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत दोस्रो तहका नेतालाई मात्रै समानुपातिक उमेदवार बनाएको छ।
रामबहादुर थापा बादल लगायतका नेता पनि समानुपातिकमा बस्ने चर्चा चलेपनि निर्वाचन आयोगमा आइतबार बुझाइएको सूचीमा उनको नाम परेको छैन ।

स्रोतका अनुसार माओवादीले पूर्वसभामुख घर्ती, पूर्वमन्त्री रेखा शर्मा, हितराज पाण्डे, नेताहरु जयपुरी घर्ती, मणि थापा, नारायण दाहाल, तिलक परियार, श्रवण वर्वरिया यादव, पूर्णकुमारी सुवेदी, देवी खड्का, विमला सुवेदी, पासाङ शेर्पा, सुरेश आलेमगर, धर्मशिला चापागाईं, बलावती शर्माल, रामनारायण विढारी लगायतका नेताको नाम समानुपातिक सूचीमा राखेको छ ।


समानुपातिक सूचीमा बस्ते चर्चा चलेका थापा चितवन २, अध्यक्षा पुष्पकमल दाहाल चितवन ३, नारायणकाजी श्रेष्ठ गोरखा २ बाट निर्वाचन उठ्ने पक्कापक्की भएको छ । त्यस्तै, नेता कृष्णबहादुर महरा दाङ, वर्षमान पुन रोल्पा, चक्रपाणि खनाल कपिलवस्तुबाट उठ्दैछन् । अन्य अधिकांस नेता पनि प्रत्यक्षमै उठ्दैछन् ।


आयोगमा बुझाएको नाममा माओवादीले प्रतिनिधिसभामा ११० र प्रदेशसभाका लागि २२० जनाकै नाम बुझाइएको प्रवक्ता पम्फा भुसालले आयोगमै बताइन् । उनी पनि ललितपुर ३ बाट प्रत्यक्षमा निर्वाचन लड्दैछन् भने उनको गृहजिल्ला अर्घखाँचीबाट नेता टोपबहादुर रायमाझी उमेदवार बन्ने लगभग पक्का छ।


प्रतिनिधिसभातर्फ ५७ महिला र ५३ पुरुषको नाम बुझाइएको छ उनले बताइन् । यसैबीच माओवादीको चिन्ह लिएर चुनाव लड्ने सम्झैता गरेका समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र जनजागरण पार्टीका लोकमणि ढकाल पनि समानुपातिक सूचीमा परेका छन् ।

वरिष्ठ नेता रामबहादुर थापा नेतृत्वको कार्यदलले गृहकार्य गरी अन्तिममा मुख्य तीन नेता दाहाल निवास लाजिम्पाटमा बसेर बन्दसूची तयार पारेका थिए ।

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्