पर्वतमा बाम गठबन्धनको पक्कड, ९ हजार मतले कांग्रेस पछाडि


 


काठमाडौं , असोज ३०

पर्वत जिल्लामा एमाले–माओवादी गठबन्धनको पक्षमा कांग्रेसको भन्दा ८ हजार ७०३ मत बढी रहेको पाइएको छ ।
स्थानीय तहमा वडा अध्यक्षका उमेदवारले पाएको मतका आधारमा यस्तो तथ्य पत्ता लागेको हो ।

दोस्रो चरण अन्तर्गत मंसिर २१ गते निर्वाचन हुने पर्वतमा कांग्रेस र बाम–गठबन्धनले जिल्लाबाट उमेदवार सिफारिस गरेपनि केन्द्रबाट टुंगिएको छैन ।


गठबन्धनमा १ मात्रै क्षेत्र रहेको प्रतिनिधिसभा र प्रदेशको एउटा क्षेत्र एमाले तथा दोस्रो क्षेत्र माओवादीले लिने मोटामोटी समझदारी भएको छ ।
तर, कुन क्षेत्र माओवादीलाई दिने भन्ने अहिलेसम्म टुंगिन सकेको छैन । दुई मध्ये जुन क्षेत्र लिँदा पनि माओवादी एमालेकै भोटमा भर पर्नुपर्दा हु्ँदा टुंग्याउन गाह्रो भएको हो ।

एमालेको प्रतिनिधिसभाका लागि ७ जनाको नाम सिफासिर भएपनि पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिना र निवर्तमान क्षेत्र नं २ सांसद विकास लम्साल मध्ये एक हुनेछन् ।

उता कांग्रेसले पनि प्रतिनिधिसभा पूर्व सांसद अर्जुनप्रसाद जोशी, ऋषिकेश तिवारी, ललितकला गुरुङ र बसन्त सिकेको नाम सिफारिस गरेको छ । यी मध्ये अहिलेसम्म नाम टुंगिसकेको छैन ।

२४० निर्वाचन क्षेत्र हुँदा केन्द्रीय संसदका लागि दुई क्षेत्र भएको पर्वत अहिले एउटा मात्रै क्षेत्रमा सिमित भएको छ ।
दुई क्षेत्र हुँदा क्षेत्र नं १ बाट २०५६ को संसदीय निर्वाचन, पहिलो संविधानसभा र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अर्जुनप्रसाद जोशी लगातार विजयी भएका थिए । क्षेत्र नं २ बाट २०५६ मा कांग्रेस, पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र तथा २०७० को चुनावमा एमाले विजयी भएको थियो ।

अब, दुई क्षेत्र एउटै हुँदा र बाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न कांग्रेसलाई सहज देखिँदैन । १ लाख ७ हजार २९८ मतदाता रहेको पर्वतमा दुई नगरपालिकासहित ७ स्थानीय तह छन् । जसमध्ये ४ तह एमालेले जितेको छ भने ३ मा कांग्रेस विजयी भएको छ । जिल्लाका ६२ वडा मध्ये ३७ मा एमाले, २१ मा कांग्रेस र ४ वडामा माओवादी विजयी भएको छ ।

यहाँ हामीले वडा अध्यक्षले प्राप्त गरेको मतलाई पार्टीले प्राप्त गरेको मतका रुपमा विश्लेषण गरेका छौं । विश्लेषणअनुसार जिल्लामा एमाले ३० हजार ३५ मत प्राप्त गरेको छ भने कांग्रेसको २७ हजार ७९५ मत छ । यता माओवादी केन्द्रको ६ हजार ६६५ मत छ भने राप्रपाले २०१ मत मात्रै ल्याएको छ ।


जसले गर्दा एमाले–माओवादी गठबन्धनको पक्षमा ३६ हजार ७०० मत हुँदा कांग्रेसको पक्षमा २७ हजार ९९७ रहेको छ । स्थानीय तहको नतिजाअनुसार दुई पक्षबीचको अन्तर ८ हजार ७०३ मतको रहेको छ ।

भोट अन्तर ठूलो भएपनि पर्वतका मतदातले उमेदवार पनि हेर्दै आएका छन् । कांग्रेसभन्दा एमाले बढी भएको भनीने क्षेत्र नं १ मा तीन पटकसम्म अर्जुनप्रसाद जोशी विजयी भएका थिए । कांग्रेसका लागि जोशी नै बलियो र बाम गठबन्धनसँग कडा प्रतिस्पर्धा गर्नसक्ने नेता हुन् ।

उता क्षेत्र नं २ मा एमालेभन्दा कांग्रेस केही बलियो रहेको बताइए पनि २०७० मा एमाले विजयी भएको थियो । तर, माओवादी सँगको गठबन्धनले गर्दा एमाले उमेदवारलाई सहज भने पक्कै हुनेछ ।

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्