साउदीको जेलमा रहेका नेपालीलाई छुटाउन तपाई पनि सहयोग गर्ने हैन !


 


नवलपरासी, असोज ३१
झण्डै साढे तीन वर्षदेखि साउदीको जेलमा रहेको नवलपरासीको मध्यबिन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउनका लागि रकम संकलन अभियान शुरु गरिएको छ ।

उनलाई मुक्त गराउन साउदीको डेढ लाख रियल लाग्ने भएको छ । उनलाई तोकेको जेल अवधि सकिसक्दा पनि उनले बुझाउनु पर्ने जरिवाना रकम बुझाउन नसक्दा उनी अझै छुट्न सकेको छैन ।

त्यसका लागि नवलपरासीमा रकम संकलन अभियान थालिएको आप्रवासी कामदारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सामी परियोजनाले जनाएको छ । प्रवासी मञ्चको सहयोगमा काठमाडौँ र साउदीमा पनि रकम संकलन जारी छ ।

सोही क्रममा नवलपरासीमा पनि संकलन अभियान थालिएको सामी परियोजना कावासोतीले जनाएको छ । नवलपरासीमा अहिलेसम्म २१ हजार २०० संकलन भएको सामी मनोसमाजिक परामर्श कर्ता आप्रवासी कामदार हकहित संरक्षण मञ्चका सदस्य शुभ रानाले बताए।

१० मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजारको दक्षिणतर्फको गाउँबाट १३ हजार ९१० संकलन भएको छ । थानेश्वरलाई लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । २०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए ।

उनले चलाएको टिपरमा एउटा सवारीसाधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारीसाधनमा रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिने अर्को सवारीसाधनमा रहेका गरी दुई जनाको ज्यान गएको थियो ।

थानेश्वर दुर्घटनामा गम्भीर घाइते भएका थिए । दुर्घटना पछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउन खोज्दा कम्पनीको साहुले घर आउन नदिई पुनः काममा लगाएको थानेश्वरका आमा यमकला भुसालले बताए।

पुनः काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको हो । उनी साढे तीन वर्षदेखि जेलमा रहेका छन् ।

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्